Shittalpati
सुन तस्करी रोक

सुन तस्करी रोकथाम तथा नियन्त्रण हुनुपर्ने माग सधैं उठ्ने गर्छ । प्रहरीले केही सुन बरामद र तस्करहरुलाई पक्राउ पनि गर्छ तर श्रृंखलाबद्ध रुपमा सुन तस्कर हुन छोड्दैन । देशका विभिन्न नाकाबाट यति बेला श्रृंखलाबद्ध रुपमा ठूलो परिमाणमा अवैध सुन फेला पर्ने गरेको छ । पछिल्लो एक साता नपुग्दै साढे २९ किलो सुन बरामद भएको छ । केही दिन अघि विमानस्थलबाट साढे ६ किलो सुन बरामद भयो । जबकि त्यसैको तीन दिनअघि बिहीबार एकै दिन विमानस्थलबाट १४ किलो र नागढुंगा नाकाबाट दुई किलो सुन बरामद भएको थियो । त्यसको दुई दिनअघि न्युरोडबाट सात किलो सुन बरामद भयो । यसरी श्रृंखलाबद्ध रुपमा सुन तस्करी बढ्दै गएको छ । सरकारले सुन तरस्करीमा कडाई गरेको बताउँदै आए पनि श्रृंखलाबद्ध रुपमा सुन बरामद हुनुले भन्सारमा हुने चेकजाँच माथि नै प्रश्न उठेको छ । आश्चर्य त के भने सुन बरामदका लागि भएका कारवाहीले तस्करलाई कुनै प्रभाव परेको छैन । उनीहरू आफ्नो धन्दामा निरन्तर र निस्फिक्री लागिरहेका छन् । गएका १० वर्षमा मात्रै ७ क्विन्टलभन्दा बेसी सुनको अवैध आयात भएको छ । जुन समातियो । नसमातिएको कति होला ? यस्तो क्रम दिनानुदिनजसो देखा पर्न थालेको छ ।

अरबौँ मूल्य रहेको उक्त परिमाणको सुनका कारण देश सुन माफियाहरुको चक्रव्यूहमा नराम्रोसँग फसेको प्रष्ट हुन्छ । सुन ओसारपसारमा संलग्न रहेका केही व्यक्ति पक्राउ परिसके पनि सुन तस्करी भने देशमा बढ्दो क्रममा देखिनु निकै शङ्कास्पदसमेत छ । दुई दिनअघि सुन समातिएको खबर आउँदा पनि तस्करहरु उही ठाउँ र उही उडानबाट फेरी सुनसहित आउनु र भन्सार पनि पार गराउनुले के सन्देश दिन्छ भने तस्करहरू निकै ठूलो धन्दामा छन् । छिट्टफुट्ट हुने कारवाहीले उनीहरुलाई हतोत्साही गराउन सक्दैन । राज्यसंयन्त्र नै कमजोर छ भन्नेमा उनीहरू ढुक्क छन् । यहँँ सम्म कि विमानस्थलको जाँचपास प्रणाली  नै कमजोर छ । होइन भने कर्मचारीको नै मिलेमतो छ भन्ने प्रष्ट हुन्छ । भन्सार, अध्यागमन र सुरक्षा संयन्त्रका सबै ढोका सुन तस्करका लागि खुला हुनु भनेको सानोतिनो सेटिङबाट सम्भव हुँदैन । सरकार जिम्मेवार र संवेदनशील नभइरहने हो भने देश सुन तस्करीको अखडा बन्ने र अन्तर्राष्ट्रिय रूपमा बदनाम हुने निश्चित छ । तसर्थ सरकारले सुनको यो धन्दा नियन्त्रणमा गम्भीरताका साथ कदम चाल्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update