Shittalpati
महिला कर्मचारीलाई ‘महिनावारी बिदा’

पाल्पा, लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीहरुको हकमा स्वागतयोग्य कदम चालेको छ । महिनावारीका बेला शारीरिक तथा मानसिक कष्ट भोग्दै आएका महिला कर्मचारीहरुका लागि प्रदेश सरकारले विदाको व्यवस्था गरी स्वागतयोग्य काम गरेको हो ।

प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था गरेको छ । यो व्यवस्थासँगै निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने छन् । महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनाबारी बिदा पनि थपिएको हो । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । प्रदेश सरकारले नियमावली बनाएर पारित गरेपछि बिदा लागू हुनेछ । सम्भवत यस्तो बिदाको व्यवस्था गर्ने यो प्रदेश नेपालकै पहिलो हो । विश्वका केही मुलुकले महिनावारीको समयमा महिला कर्मचारीलाई बिदा नै दिने नीति अवलम्बन गरे पनि नेपालमा  त्यस्तो व्यवस्था रहेको थिएनन् । नेपालमा ‘महिनावारी बिदा’ कि कार्यस्थलमा सहजता भन्ने विषयमा बेलाबेलामा बहस हुने गर्दै आएको छ । यहँँका केही स्थानीय सरकारले  भने आफू मातहतका कर्मचारीलाई विदाको समेत व्यवस्था गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाले नवौं नगर सभाबाट महिला कर्मचारीहरुलाई महिनावारी र गर्भ परिक्षणको लागि विदा दिने निर्णय गरेको थियो । उसले महिनावारीको बेला एक दिन र गर्भवती महिलाको नियमित चेकजाँचका लागि ४ दिन विदा दिने गरेको छ ।

यस्तै पाल्पाको गैरसरकारी संस्था पछौटेपन उन्मुलन समाज (बेस) नेपालले पहिलो पटक २०६७ मा गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको थियो । उसले अहिले गर्भ परीक्षण गराउन चार दिन र महिनावारीका समय एक दिन आराम गर्न बिदा दिर्दै आएको छ । महिला कर्मचारीहरुका लागि महिनावारी विदा आवश्यक रहेकाले आफुहरुले त्यस्तो व्यवस्था गर्दै आएको संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले बताए । उनले पहिले आफुहरुले सुरुवात गरेको यस्तो व्यवस्था रामपुर नगर सरकारले अनुसरण गर्दै आएकोमा अहिले प्रदेश सरकारले समेत त्यसको अनुसरण गरेकोमा खुुसी व्यक्त गरे । पाण्डेयले अन्य स्थानीय र प्रदेश सरकारले समेत अनुसरण गर्न जरुरी रहेको बताए ।  

महिनावारी हुँदा यस्तो हुन्छ पीडा
महिलामा महिनावारी हुनु प्राकृतिक नियम हो । तर यही नियमले महिनैपिच्छे महिलामा शारीरिक तथा मानसिक कष्ट निम्त्याउने गरेको छ । विभिन्न अध्ययनले ८० प्रतिशत महिलाले महिनावारीलाई पीडादायी र असहज रुपमा लिने गरेको देखाएको छ । प्रजनन क्षमता भएका उमेरका महिलामा महिनावारीका बेला तल्लो पेट तथा ढाड दुख्ने आम समस्या हो । कसैकसैलाई झर्को लाग्ने, बान्ता हुने र चिडचिडापन हुने हुनसक्छ । अझ महिनावारी सुरु भएका किशोरी र सुक्ने चरणका महिलामा त झन् यो पीडा बढी हुने गर्दछ । महिनावारीमा दुखाइ धेरै भएमा दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ । तर, आफूखुसी सेवन गर्ने औषधिले अरु स्वास्थ्य समस्या निम्त्याउन सक्ने कुरामा भने सचेत रहनुपर्छ । कामकाजी महिलालाई भने पीडा सहेरै होस् वा औषधि खाएर, दैनिक काम गर्नुपर्ने बाध्यता छ । यसले कार्यशैली र पेसामा समेत प्रभाव पार्ने गर्दछ । अझ स्कुले किशोरीहरु पनि सफा पानी, सुरक्षित र लैंगिक रुपमा छुट्याइएका शौचालयको अभावका कारण महिनावारीको समयमा स्कुल छुटाउन बाध्य हुन्छन् । महिनावारीका समयमा आवश्यक पर्ने सेनेटरी प्याडलगायत सामग्री कार्यालयले उपलब्ध नगराउँदासमेत महिलाहरुले असहजता भोगिरहेका छन् । प्रजजनसम्बन्धी सचेतना कम हुँदासमेत यस्ता समस्याको मानसिक प्रभाव बढी पर्ने गरेको छ । तीनै तहका सरकारले महिनावारी सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नु जरुरी त छ नै, परिवार र समाजले पनि यसलाई सामान्य प्राकृतिक नियमका रुपमा लिनुपर्छ ।

कुन–कुन देशमा छ त बिदाको व्यवस्था ?
महिनावारीका समयमा महिलालाई बिदा दिने नियम केही मुलुकमा भए पनि नेपालमा भने यसबारे बल्ल चासो बढाउन थालिएको छ । स्पेनमा महिलाहरूलाई महिनावारीको समयमा प्रत्येक महिनामा तीन दिन बिदा लिन पाउने अधिकार छ । स्पेन युरोपको पहिलो देश हो जहाँ महिलालाई महिनावारी हुँदा तलबी बिदा दिइन्छ । यस्तै जापानले महिनावारी हुँदा दिइने बिदालाई श्रम कानूनमा समावेश गरेको छ । इन्डोनेसियाले सन् १९४८ मा महिलाका लागि यस्तो महिनावारीमा बिदा दिने नीति ल्याएको थियो । महिनावारीको समयमा महिलालाई समस्या भएमा काममा लगाउन नपाइने र दुई दिन बिदा दिने व्यवस्था गरिएको छ । यसबाहेक फिलिपिन्स, जाम्बियाजस्ता अफ्रिकी देशका महिलाले पनि महिनावारी हुँदा एक दिन बिदा लिन सक्छन् । दक्षिण कोरिया सरकारले पनि यस्तो प्रावधान ल्याएको छ । भारतमा बहस भए पनि अझै व्यवस्था लागु भएको छैन ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update