Shittalpati
चिसोबाट मर्न नदेऊ

दिनप्रतिदिन चिसो बढ्दै गएको छ । चिसो बढेसँगै नेपालीहरुले ज्यान गुमाउनु परेका समाचारहरु समेत आउन थालेका छन् । अझ भूकम्पबाट ज्यान बचाउन सफल भएका कतिपय नागरिकहरुले चिसोबाट ज्यान गुमाउनु परेको घटना भने अत्यन्त दुखद् हो । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पको अहिले एक महिनाभन्दा बढी समय भैसकेको छ । यति लामो समय व्यतित भैसक्दासमेत त्यसबाट प्रभावितहरुको पीडा कम हुन सकेको देखिँदैन । प्रभावितहरुका लागि अहिलेसम्म अस्थायी आवास निर्माण हुन नसक्दा खुला आकाशमै बस्न बाध्य भएका छन् । चिसोको मौसममा खुला आकाशमा दिन काट्न बाध्य उनीहरु चिसोका कारण थप सकसमा छन् । सरकारले आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गर्न नसक्दा भूकम्प पीडितहरू चिसोकै कारण ज्यान गुमाउनु परेको छ । जाजरकोट र रुकुम पश्चिममा जाडोबाट हालसम्म २३ जनाले ज्यान गुमाइसकेका छन् । सरकारको अकर्मण्यताले गर्दा भूकम्पमा जसोतसो बाँचेकाहरू चिसोबाट मर्न विवश हुनु विडम्वना हो ।

प्रभावितसँग चिसो सिरेटो र शीतबाट जोगिन छानो त छैन नै आङ छोप्न एक सरो न्यानो लुगा पनि छैन । यस बारेमा सरकारको  एक रत्ति पनि ध्यान छैन् । भूकम्प गएका सुरुवाती दिनहरुमा प्रधानमन्त्री, मन्त्रीदेखि नेताहरु हेलिकप्टर लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत र उद्धारको आश्वासन नबाँडेका हैनन् । उनीहरुले विपद् खाता खोलेर सबैसँग पैसा पनि उठाएका छन् तर, तत्कालको समस्या समाधानप्रति कुनै चासो छैन । हुन्थ्यो भने भूकम्प गएको एक महिना बित्दासम्म प्रभावितहरुका लागि अस्थायी टहराको प्रबन्ध गर्नुपथ्यो । त्यसो हुन सकेन । नहुनु पर्ने भइसक्यो तर अब चेत्नुपर्ने थियो सरकारले । कि भूकम्पबाट बचाउन नसके पनि बाँचेकाहरूलाई अकालमा मृत्युको मुखमा पुग्ने नबनाउने उपाय रच्नुपर्ने थियो । सामान्य त्रिपाल पनि सबैलाई पु¥याउन नसक्नु भनेको हदैसम्मको लापरवाही र विडम्बना हो । साच्चिकै दृढ इच्छा शक्ति हुन्थ्यो भने एक महिनामा प्रभावितहरुले केही न केही महसुस हुने गरी काम गर्न सकिन्थ्यो । अब पनि सरकार भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास बनाउन ढिलाई गर्ने हो भने अझै धेरै प्रभावितहरुले चिसोबाट ज्यान गुमाउनु पर्ने हुन सक्छ । यसर्थ सरकार जनताको अभिभावक भएकाले छिटो भन्दा छिटो अस्थायी आवास निर्माण गरी चिसोबाट कुनै पनि नागरिकलाई मर्न दिनु हुन्न । यसतर्फ सरकारका सम्पूर्ण सयन्त्रहरु तदारुकताका साथ लाग्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update