Shittalpati
चिसो बढे पनि पानी नपर्ने

पाल्पा, पाल्पासहित देशका अधिकांस भागमा जाडो बढेको छ । धेरै ठाउँमा राम्रोसँग घाम लागेको छैन । कतिपय स्थानमा तुवाँलो लागेको छ । तुवाँलोले वायुमण्डलमा खराबी आएका कारण जनजीवन प्रभावित भएको छ । एलर्जी, दम र रुघाका बिरामी बढेका छन् ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान बेलुका मौसम धुम्म भइ चिसो बढे पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–भागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ । देशभरी चिसो भने बढ्दै गएकाले चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update