Shittalpati
गुल्मीका किसान मौरीपालनमा आकर्षित

गुल्मी, गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको संख्या बढ्न थालेको हो ।

गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका मानबहादुर फुङ्जेली विगत १३ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । त्यसबाहेक उनले कागती र सुन्तलाखेती पनि गरेका छन् । फङ्जेलीसँग यतिबेला ४० मौरीका घार छन् । उनले  कृषिज्ञान केन्द्र गुल्मीबाट हालै १० वटा मौरीका घार पनि अनुदानमा पाएका छन् । उनका अनुसार मह बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । मह दमका बिरामी र रुघाखोकीको समस्याबाट ग्रसित व्यक्तिका लागि निकै उपयोगी मानिन्छ । तोरी, चिउरीलगायतका फूल फुल्ने समयमा किसानले एक सिजनमा दुई पटकसम्म मह काढ्छन् । अर्गानिक मह उत्पादन गर्न सकेमा बजारीकरणको कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । यहाँ मह प्रतिकेजी एक हजार पाँच सय र मौरीसहितको घार आठ हजारदेखि नौ हजारसम्म बिक्री हुँदै आएको छ ।

गुल्मीमा उत्पादन भएको मह स्थानीय बजारदेखि बाÞय बजारमा खपत हुँदै आएको छ । जिल्लामा व्यावसायिक रुपमा पाँच वटा घारभन्दा बढी मौरीपालन गर्ने किसानको संख्या दुई सयभन्दा बढी छ । तीमध्ये तीन हजार छ सय आधुनिक र दुई सय ३६ परम्परागत घारमा मह उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update