रेमिट्यान्सको मुख्य स्रोत वैदेशिक रोजगार हो । विदेशमा पुगेका युवाले पठाएको उक्त रकमलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । आर्थिक परिदृश्यमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स पछिल्लो समय महत्वपूर्ण अर्थतन्त्रको अस्थाई टेकोको रूपमा रहँदै आएको छ । चालु आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले साउनदेखि कार्तिकसम्मको सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार २६ दशमलव चार प्रतिशतले रेमिट्यान्स बढेको छ । चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको (विप्रेषण) रेमिट्यान्स मुलुक भित्रिएको हो ।
यसलाई राम्रै मान्नुपर्छ तर नेपाली युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रकमलाई भने सरकारले ‘आर्थिक स्थिति सुध्रेको’ रुपमा अथ्र्याएर जश लिन खोज्नु चाहि राम्रो होइन । सरकारले आन्तरिक आम्दानीको स्रोतलाई बढाउन नसक्ने तर विदेशमा दुख गरेर पठाएको रकममा मख्ख परेर अर्थतन्त्र सुधार गरियो भन्नु गलत हो । लक्ष्य अनुसार राजस्व उठेको छैन, सरकारले काम गरिसकेका निर्माण व्यवसायीलाई भुक्तानी दिएको छैन, मूल्य वृद्धि नियन्त्रण गर्न सकेको छैन, रोजगारी सिर्जना गर्न सकेको छैन र यी लगायत गर्नुपर्नेजति सरकारले गर्न सकेको छैन । बरु मुलुकले थेग्न नसक्ने गरी संघीय सरंचनाहरु बनाइएको छ । आन्तरिक स्रोतबाट मात्रै सरकारलाई तलव, भत्ता खुवाउन हम्मे हम्मे पर्ने गरेको छ । यस्तो अवस्थामा सरकारबाट विकास र समृद्धिको के आश गर्ने ? अहम् सवाल यही हो । संघीयताले के दियो त ? केवल राजनीतिक दलका नेता र तिनका कार्यकर्तालाई जागिर । यो बाहेक देखिने गरी, सुनिने गरी त केही दिएको छैन । युवा जनशक्ति गाउँबाट पलायन हुँदा गाउँका पाखापखेरा बाँझिने क्रममा छन् । काम गर्न सक्ने क्षमता भएका जनशक्तिहरु विदेशिँदा वा सहरतिर पलायन हुँदा कृषि उत्पादन दैनिक रुपमा घट्दो अवस्थामा छ । देशमा उत्पादन नहुँदा हरेक उपभोग्य वस्तुका लागि विदेशमा भरपर्नु पर्ने बाध्यता छ । विप्रेषण रकम सरकारको ढुकुटीमा जाने होइन । त्यसले त केवल वैदेशिक मुद्रा सञ्चितीको परिमाणलाई इंगित गर्छ र अधिकांश विप्रेषण उपभोगमा खर्च हुन्छ । यसले विदेशी मुद्राको सञ्चिती बढाएर भारतलाई डलर तिरेर चामल आयात गर्न भने सहज भएको छ । त्यसैले वैदेशिक रोजगारी स्थायी समाधान होइन । सबै नेपाली नेपालमै बसेर काम गर्ने, आफ्ना बाबुआमाको सेवा गर्ने अवसर पाउनुपर्छ । त्यस्तो वातावरण सरकारले निर्माण गर्नुपर्छ । स्वदेशमै उद्योग कलकारखाना खोली प्रसस्त आम्दानीका स्रोतहरु बढाउनु पर्छ नकि रेमिट्यान्स बढ्दैमा खुसी हुने हैन ।