Shittalpati
निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री  थापा 

  पाल्पा,नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले  काँग्रेसका कार्यकर्तालाई अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती  नगर्ने बताएका छन् । शनिबार नेपाली काँग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनलाई तानसेनमा सम्बोधन गर्दै महामन्त्री थापाले हिजो जे भयो भयो, अबको यात्रामा काँग्रेसका व्यक्तिहरुलाई रुख चिन्ह बाहेक अर्को चिन्हमा मत हाल्न लगाउने गल्ती र अपराध काँग्रेसले नगर्ने  बताएका  हुन् । 

उनले भने ‘काँग्रेस भनेको आस्थाको मन्दिर हो, तर त्यो मन्दिर माथि चोट लागेको छ, त्यसैले नेपाली काँग्रेसले महासमितिको बैंठकबाट हात जोडेर भन्नुपर्छ कि जे भयो भयो अब यो भन्दा अगाडिको यात्रामा कुनै निर्वाचनमा हारिएला भन्ने डरले, जितिएला भन्ने लोभले काँग्रेसका मान्छेलाई रुखभन्दा अर्को चिन्हमा मत  हाल्न लगाउने गल्ती, अपराध अब हामीले गर्ने छैनौं भनेर हाम्रो यात्रा सुरु गर्नुपर्छ ।’   

महामन्त्री थापाले २०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि काँग्रेसले गठबन्धन नगर्ने दाबी  गरे । ‘ निर्वाचनमा बरु हार्न परोस्, तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन गरिँदैन,’ उनले भने, ‘सबै कम्युनिष्ट मिलुुन्, स्वन्तत्रहरू पनि मिलुन् तर काँग्रेस एक्लै लड्छ ।’ त्यतिन्जेल एक्लै लड्न सक्ने काँग्रेस बनाउने समेत उनले दाबी गरे ।
२०१५ सालको सरकारको गर्व गर्ने काँग्रेसले २०८४ को निर्वाचनको चिन्ता गर्ने काँग्रेसले वर्तमानमा जनताको मन जित्ने गरी काम गर्नुपर्ने उनको तर्क छ । ‘हामी विगतको गर्व गर्छौं भविष्यको चिन्ता पनि गर्छौं,’उनले भने,‘तर यो असामयिक, अव्यवहारिक छ । किनकि अहिले तीन सय बढी स्थानीय तहमा काँग्रेसले नेतृत्व गरेको छ । सात प्रदेशमध्ये चार प्रदेशमा मुख्यमन्त्री काँग्रेसकै छन् । केन्द्रमा पनि काँग्रेस सरकारमै छ । केही महिना पछि हाम्रो प्रधानमन्त्री बन्दैछ । धेरै स्थानीय तहमा वडा तहसम्म नै कांग्रेस बढी छ । दायाँ ठोकिए मेयरसँग र बायाँ ठोकिए उपमेयरसँग नै ठोकिन्छ । अहिले जनतामा निराशा बढेको बेला हामीले जनतालाई आशा र भरोसा जगाउने गरी काम गर्ने हो । जनताले अनुभूति गर्ने गरी काम गर्न सक्यौँ भने जनता आफै हाम्रो पक्षमा लाग्छन् ।’ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टीसँग सरसल्लाह गर्ने नागरिकका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्नुपर्ने उनले बताए । ‘महिनामा एक पटक पार्टीका साथीहरूसँग बसेर छलफल गर्नुस्,’ उनले भने,‘जनताको आवश्यकता र चाहाना के छ पहिचान गरी काम गर्नुस् ।’

कार्यक्रममा विशिष्ट अतिथि काँग्रेसका सह–महामन्त्री भीष्म राज आङदेम्बेले नेपाली काँग्रेलाई अब अलमलिने छुट नभएको बताए । उनले विगतमा भन्दा वर्तमानमा समस्याहरु धेरै भएकाले त्यसको समाधानका लागि पनि काँग्रेस अलमलिन नहुने धारण व्यक्त गरे । सह–महामन्त्री आङदेम्बेले भने‘ जनताप्रति काँग्रेसको भरोसा छ, त्यसैले पनि अब हामी सुतेर हैन, सच्चिएर हिड्न जरुरी छ , अब काँग्रेस उठ्छ र उठ्नुुपर्छ ।’ केन्द्रीय सदस्य दीपक गिरीले भ्रष्टचारको अन्त्यका लागि अब काँग्रेसले सोच्न जरुरी रहेको बताए । उनले भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा आर्थिक समृद्धि र सुशसान आउन नसक्ने भन्दै त्यसको समाधानमा काँग्रेस लाग्न आवश्यक रहेको औल्याए । कार्यक्रममा अर्का केन्द्रीय सदस्य रुपा विकले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरण आवश्यक रहेको बताईन् । उनले युवा, महिला, दलित, किसान, उद्योगी, व्यवसायीहरुको थुप्रै समस्याहरु भएकाले त्यसको समाधनका उपायहरु दिन काँग्रेस मात्र एक विकल्प पार्टी रहेको धारणा व्यक्त गरिन् ।

 कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन,पूर्व केन्द्रीय सदस्यहरु हरीप्रसाद नेपाल, राजनप्रसाद पन्त, काँग्रेस पाल्पाका निर्वतमान सभापति विरबहादुर राना, काँग्रेस प्युुठानका सभापति विष्णु गिरी लगायतले जन जिविकाका सवाल सम्बोधन गरेर पार्टीलाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले राजनीतिक प्रतिवेदन, सचिव सन्तोष थापा मगरले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष महोन प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । काँग्रेसले पूर्व जिल्ला सभापति, अक्षकोषदाता, निर्वाचित जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, पत्रकारहरुलाई समेत सम्मान गरेको  पार्टी प्रवक्ता शोभाखर न्यौपानेले बताए । जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, उपसभापति झपेन्द्र गरिहेको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको  थियो । 


प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update