राष्ट्रिय झण्डा एकताको प्रतीक हो । झण्डालाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो,तर पछिल्लो समय यसको व्यापक अपमान हुने गरेको छ । जानेर वा नजानेरै मानिसले झण्डाको चरम अपमान गर्ने गरेका छन् । विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रममा केही नेता कार्यकर्ताले नेपाली राष्ट्रिय झण्डा नै ओढ्ने गरेको देखिन्छ । जसमा स्वतन्त्र रूपमा उम्मेद्ववार भएका नेताहरू नै अग्रस्थानमा रहने गरेको पाइन्छ । राष्ट्रिय झण्डा ओढेर चुनावको प्रचार–प्रसार गरी मेयरदेखि माननीयसम्म हुँदै गर्दा यससम्बन्धी कसैले प्रश्न उठाएको तथा विमर्श भएको देखिदैन । यो अत्यन्त दुखको कुरा हो ।
चुनावी प्रचार प्रसारका क्रममा मोटरसाइकलमा झण्डा ठड्याउने,त्यसैलाई टाउको, कम्मर वा मोटरसाइकलको मिररमा बाँधेको पनि देखिन्छ । यसले प्रष्ट पार्छ कि हामी नेपाली राष्ट्रिय झण्डाको सम्मानप्रति कति सचेत छौं । यस्ता कार्यले झण्डाको सम्मान हुँदैन । नेपाल सरकारले नै राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन प्रयोगसम्बन्धी कार्यविधि नै बनाएको छ । झण्डाको प्रयोग गर्दा कहाँ गर्ने, कसरी गर्ने भन्ने कुराको जानकारी हुन आवश्यक छ । कार्यविधिले नै राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै कार्य गर्न वा गराउन निषेध गरेको छ । व्यक्तिले शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन निषेध गरिएको छ । छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री–बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक वा चित्र राख्न पाइँदैन तर, अधिकासं नेपालीले यस्ता कुराहरुको हेक्का नै राखेको देखिदैन । समाज र राष्ट्रको नेतृत्व गर्छु भन्नेहरुले नै यस्ता कुराको वेवास्ता गर्छन् भने सर्वसाधारण नागरिकको के कुरा । झण्डाको सम्मानको लागि हरेक वर्ष डिसेम्बर १६ मा राष्ट्रिय झण्डा दिवस मनाउने गरिएको छ । आज पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको हो । दिवस आफैमा राम्रो हो तर झण्डाको सम्मान गर्ने संस्कारलाई सबै सामु बसाल्न सकिएको छैन । झण्डा प्रयोग गर्न पाउनु नागरिकप्रतिको सम्मान पनि हो । झण्डा फोहोर भए, पुरानो भए, च्यातिएमा तुरुन्त फेर्ने र यसको अन्य नियम पालना गरी आफैंप्रतिको सम्मान कायम गर्न आवश्यक छ । यसर्थ यस वर्षको दिवसले झण्डाको सम्मान गर्न सबैमा चेतना जगाउन सकोस् ।