Shittalpati
आज राष्ट्रिय झण्डा दिवस मनाइँदै

पाल्पा, राष्ट्रिय एकताको प्रतीकका रुपमा रहेको झण्डाको सम्मानमा आज छैठौं राष्ट्रिय झण्डा दिवस मनाइँदैछ । झण्डालाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्वर १६ अर्थात् पुस १ गतेका लिन यो दिवस मनाउने गरिएको हो ।

विभिन्न कार्यक्रम गरी आज आइतबार यो दिवस मनाइँदै छ । २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा २०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आइएको छ । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रूपमा मात्रै प्रयोग गर्नुपर्ने  आवाज समेत उठेको छ । राष्ट्रिय झण्डाको महिमा गुम्दै गएकाले यसको महत्व उजागर गर्न दिवसले महत्वपूर्ण भूमिका खेल्ने जानकारहरु बताउँछन् । उनीहरुका अनुसार नेपालको राष्ट्रिय झण्डामा दुई चुच्चो र तीन कुना हुनुले नेपाल हिमाल, पहाड र तराई भूमीको देश भएको जनाउने गर्दछ । झण्डामा चन्द्र माथि र सूर्य तल छ । चन्द्रलाई मन र बुद्धिको प्रतीक मानिन्छ भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो । मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने मान्यता बुद्धिजिविहरुले राख्दै आएका छन् । झण्डामा रहेको ८ कोणको चन्द्रमाले १६ कला र सूर्यको १२ कोणले १२ महिना, १२ राशी बुझाउँछ । रातो रंगले उर्जा, नीलोले आकाश र सेतोले शान्तिलाई प्रतिविम्बन गर्छ । लिच्छविकालीन अंशुवर्माको मुद्रामा पनि दुई पताकासहितको नेपालको झण्डा अंकित छ । यी मुद्रामा सिंहले झण्डा समातेको देखिन्छ । शक्ति र स्वाभिमानको प्रतीक सिंहले झण्डालाई अभिवादन गरेको आकृति मानदेवकालीन मुद्रामा समेत भेटिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update