Shittalpati
आज विवाह पञ्चमी

पाल्पा, त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । द्धत्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर भएपछि आज छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ । यस अवसरमा आज देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइन्छ ।  श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update