Shittalpati
प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा

गुल्मी, गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले बताए ।

आयातित प्लास्टिकका सामग्रीले काठका भाँडालाई विस्थापित गरिदिँदा पेसा नै संकटमा परेको उनको भनाइ थियो । आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा संकटमा पर्न थालेको हो । ‘ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरीलगायत भाँडाहरु दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ’, कार्कीले भने, ‘काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ ।’ आधुनिकताले गाईभैँसी पाल्ने, दही, मही बनाउनेको कमी हुँदै जाँदा काठका प्रयोगको पनि कमी आएको उनको भनाइ थियो । 

पछिल्लो समय गाउँघरमा काठबाट निर्मित सामग्रीहरु बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का रेशम चालिसेले बताए । नयाँ पुस्ता बिस्तारै गाउँ छोडेर सहर तथा विदेश पलायन हुने र पुराना पुस्तामा सीप भए पनि बजारीकरण गर्न नसक्दा समस्या भएको उनको भनाइ थियो । ‘परम्परागत पेसा र पुराना सामग्रीको प्रयोग तथा कला, संस्कृतिको संरक्षण गर्न स्थानीय पालिका र पेसाकर्मीहरुले खासै चासो दिन सकेका छैनन्’, चालिसेले भने, ‘सीप जानेकाले हस्तान्तरण गर्न नसक्नु, बजारीकरणको कमीलगायत कारणले काठका भाँडा र भाँडा बनाउने पेसा नै लोप हुँदै जान थालेका हुन् ।’ बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडाहरु झट्ट देख्दा आकर्षक हुने र मूल्य पनि काठका भाँडाको तुलनामा कम पर्ने भएकाले यस्तो समस्या आएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताए । परम्परागत सामग्री, कला तथा संस्कृतिसँग जोडिएको काठका भाँडा बनाउने पेसाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि पालिकाले चुँदारा समुदायलाई सहयोग गर्ने नीति बनाएको उनले जानकारी दिए ।

‘परम्परागत शैलीबाट निर्माण हुने काठका सामग्री बनाउन बढी समय लाग्ने र खर्च पनि बढी हुन्छ । बजारमा यस्ता सामग्रीको खपत निकै कम हुन थालेको छ’, परम्परागत रुपमा यो पेसा गर्दै आएका यमन सुनारले भने । बिक्री कम हुने भएकाले यो व्यवसायबाट जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताए । ‘गाउँघरमा पाइने काठबाट निर्माण गरिएका सामग्री बिक्रीका लागि लैजाँदा कहिलेकाहीँ त बिक्री नै नभएर त्यत्तिकै फिर्ता ल्यानुपर्ने बाध्यता छ’, सुनारले दुखेसो पोखे । काठबाट निर्मित भाँडाको महत्वका बारेमा जानकारी नभएकाले पनि पछिल्लो समयमा चुँदारा समुदायको पेसा संकटमा परेको उनले बताए । सुनारका अनुसार गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा प्रतिमाना  सात सयदेखि एक हजारसम्ममा बिक्री हुँदै आएको छ । जिल्लामा आयोजना गरिने मेला महोत्सवसँगै ग्रामीण क्षेत्रका बजार र सदरमुकामका केही सहकारी पसल र कोशेली घरहरुमा यस्ता प्रकारका सामग्रीहरु बिक्रीका लागि राखिने गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update