Shittalpati
आप्रवासन श्रमिकका सरोकार

आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । आप्रवासी कामदारका हकअधिकार प्रत्याभूतिका लागि विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि सरोकारवालाहरुको सहभागितामा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरी  दिवस मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर यो दिवस मनाउने गरिएको हो । दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीतिक दलहरुलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आप्रवासी कामदारका पक्षमा विभिन्न सन्धि, महासन्धिको अनुमोदन गरिए पनि अझै पनि उनीहरु उचित मानवीय व्यवहारबाट बञ्चित हुँदै आएका छन् । न्यायमा पहुँच नहुनु, तोकिएको ज्याला नपाउनु, समयमै ज्याला नपाउनु, श्रमशोषण, यौनशोषण, कामबाट बिनाकारण निकालिनु, घरेलु हिंसाजस्ता समस्या आप्रवासी श्रमिकले भोग्नु परेको छ । 
विशेषगरी, गन्तव्य मुलुक र स्रोत मुलुकबीच आप्रवासी कामदारका सम्बन्धमा सम्झौता नहुनु तथा भएका सम्झौताको पनि इमानदारिताका साथ पालना नहुनुले समस्या उत्पन्न हुने गरेको छ । आप्रवासी कामदारको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, आप्रवासी कामदारको सेवासुविधाका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड बनाइए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । देश प्रवासमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले धानेको छ तर विडम्बना, तिनै श्रमिक तथा उनका परिवारको अधिकारका लागि संयुक्त राष्ट्रसंघ र आईएलओको महासन्धी अझै सरकारको एजेन्डा बन्न सकिरहेको छैन । नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारले भोग्ने पीडामा कमी आउन सकेको छैन । नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि उनीहरुका समस्यामा कमी आउन नसक्नु दुःखद् हो । उनीहरुका मुद्दा उठाउन, तिनको कार्यान्वयन र अनुगमन गर्न सरकार चुक्नु हुँदैन । आप्रवासनमा काम गर्ने श्रमिकलाई यथेष्ट सम्मान, सुरक्षा र उत्पे्ररणा दिन आवश्यक छ । अब कामदारले पठाएको रेमिट्यान्सको हिसाब गरेर बस्नेमात्र होइन, तिनीहरूको पुँजी, सीप, दक्षता, व्यावसायिकता र जाँगरलाई विकासको मूलप्रवाहमा लगाउने कार्यक्रम बनाउनुपर्छ । दिवस केवल मनाउनका लागि होइन, विगतको समीक्षा, भविष्यको कार्ययोजना र कामदारको अधिकार, न्याय तथा नीतिगत तहमा पहुँचको लागि हुनुपर्छ । जबसम्म आप्रवासी कामदारका मुद्दाहरू स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उठ्दैनन् र उठेका मुद्दा पनि कार्यान्वयन हुँदैनन्, तबसम्म दिवस मनाउनुले सार्थकता प्राप्त गर्दैन ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update