Shittalpati
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर

भारतले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेसँगै नेपाली बजारमा मूल्य अचाक्ली बढेको छ । दुई साताअघि खुद्रामा प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा प्याज खरिद गरेका उपभोक्ताले अहिले एक सय ५० रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । भारतबाटै निर्यात बन्द गरिएपछि व्यापारीले मनपरी प्याजको भाउ ह्वात्तै बढाएका हुन् । यसले आम उपभोक्ताको भान्सा थप महँगिएको छ । कुनै ठूलो चाडबाड होस् या अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि वा निर्यातमा रोक—सानो बहाना पाउनु हुन्न, नेपाली व्यापारी–व्यवसायीहरू जेमा पनि भाउ बढाइहाल्छन् । अहिले त भारतले नै प्याजमा निर्यात रोक्यो जुन नेपाली व्यापारीका निम्ती मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ । 

दिनप्रतिदिन अकाँसिदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तै पनि सरकार भने यस प्रति पूरै बेसरोकार देखिन्छ । स्वाभाविक सीमाभन्दा बढी मूल्य वृद्धि हुन नदिने आफ्नो दायित्वलाई सरकारले भुलेको छ । यो अत्यन्त दुःखद् हो । सम्भावना भएर पनि मुलुक प्याजमा आत्मनिर्भर बन्न नसक्दा नेपाली उपभोक्ताले आयातित प्याजमा भर पर्नुपर्ने बाध्यता छ । जसका कारण पनि नेपालीले महँगो मूल्यमा प्याज खरिद गर्नु परेको छ । सरकारले प्याजमा आत्मनिर्भर बन्ने कार्यक्रम नल्याएको होइन, तर त्यसमा देखिएका कमजोरीलाई सच्याएर अघि बढ्ने तत्परता नदेखाइँदा ठूलो हिंसा आयातित प्याजले ओगटिरहेको छ । यसतर्फ नेपाल सरकारलाई भने निकट भविष्यको मात्र होइन, अहिले बजारमा अकासिइरहेको महँगीको समेत कति पनि पर्वाह देखिँदैन । स्टक रहेको प्याजमा समेत व्यापारीहरुले महँगो मूल्य लिने गरेका छन् । बजारमा व्यापारीहरुले मनपरी रुपमा प्याजको भाउ बढाउँदा समेत अनुगमनको अख्तियारी पाएका निकायहरु नै मौन बस्ने गरेका छन् । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । मनपरी रुपमा मूल्य वृद्धि गर्ने व्यापारीहरुको अनुगमन गरी उनीहरुलाई कारवाहीको दायरामा नल्याउने हो भने आम उपभोक्ताहरुले सधै भरी महँगीको सामना गर्नुपर्छ । तसर्थ सरकार र सम्बन्धित निकायले अस्वाभाविक मूल्य नियन्त्रण गर्ने विषयमा तदारुकता देखाउन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update