समयको गतिलाई पहिल्याउँने नेता भएनन् भन्ने चिन्ता अहिले मुलुकका हरेक ठाउँबाट आएका छन् । सीधासादा भनिएका जनता पनि नेताका नोकर जस्तै भएका छन् । आवधिक निर्वाचनका बेला जनताले ठुलै पर्व आएको अनुभूति हुने गरी मासुभात खान रुचाउँने, पैसाको प्रलोभनबाट मत किनेर नेता बन्ने बाटो बन्द नगरिदाँसम्म यो समस्या रहीरहन्छ । नेताले आफ्नो मत किन्नका लागि दिएको पैसाले गरीवीको समस्या समाधान हुँदैन, असल नीतिले समाधान हुन्छ भन्ने कुरा जानकार जनता नहुँदा यी र यस्ता समस्याहरु आउँने गरेका हुन् ।
विकासका कुरा गर्नेहरु विकासलाई आफ्नो स्वार्थसँग गाँसेर मात्रै हेर्ने चलनको पनि यो समाजबाट अत्य गरिनुपर्छ । हरेक व्यक्तिमा देश प्रतिको इमानदारिताको भावना नफैलिदासम्म देशले दीगो विकासको परिकल्पना गर्न सक्दैन । हरेकले स्वार्थ रहित भएर देश र समाजको लागि निस्वार्थी नेता जन्माउँनु छ भने पहिला आफु सोहीबाटोमा लागेको हुनुपर्छ । सबै खराव होईनन्, धेरै खराव देखिए भने सही र निष्ठावान व्यक्तिको खडेरी पर्न थाल्यो । भनिन्छ, एउटा पोखरीको फोहर माछाले पुरै तलावलाई दुर्गन्धित बनाउँने काम गर्छ, वोरा भित्रको एउटा सडेको आलुले पुरै वोरा सडाउँछ, त्यस्तै निर्णायक कतिपय खराव मनसाय भएका कार्यकर्ताका कारण खराव नेता पनि स्थापित नेता बन्दै जान्छ ।
भोट बेच्ने जनताबाट उत्पादति नेताले भ्रष्टाचार गर्छ । त्यति बेला जनताका समस्याहरु प्रति उत्तरदायी नेता पाउँने गाह्रो पर्छ । यस्तो अवस्थामा जस्तो सुकै राम्रो व्यवस्था पनि छाँयामा पर्ने डर कायमै रहन्छ । यस्ता समस्याहरु हाम्रो जस्तै धेरै विकासशील देशहरुमा देखिन्छन् । एक रातका लागि बेचेको भोटले, धेरै वर्षका लागि खराव नेता बनाई दिने काम रोक्नुपर्छ । अनि मात्र लोकतन्त्रका सही मर्म जनताले उपभोग गर्ने अवसर प्राप्त गर्छन् । त्यस पछि मात्रै लोकतन्त्र सधै सबैका लागि उपयोगी व्यवस्था भएको अनुभूति हुन थाल्छ । त्यसैले लोकतन्त्रलाई लोककै ऐनाका रुपमा मानिएको हो । यो ऐनाले आफु जस्तो छ, त्यस्तै देखाउँने गर्छ भन्ने मान्यतालाई चरितार्थ गरिनुपर्छ ।