Shittalpati
चिसोमा स्वास्थ्य ख्याल गरौं

देशभर चिसो बढेको छ । पुुसको पहिलो हप्ता सकिसक्दा देशभर मौसम चिसिँदै गएको छ । अझ बढी तराई क्षेत्रमा चियो बढेको छ । पहाडी र हिमाली क्षेत्रमा पारो ओर्लने क्रम जारी छ । देशको भौगोलिक उचाइ र होचाइका आधारमा चिसोको मात्रा कमबेसी हुनु स्वाभाविक हो । यस आधारमा गर्मी महिनामा समेत चिसो हुने हिमाली क्षेत्रमा अहिलेकै तापक्रम पनि धेरै चिसो भइसकेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुस महिनाको दोस्रो हप्ता नहुँदै चिसोले सयौं बिरामी पारिसकेका छन् भने केहीको मृत्युु समेत भइसकेका समाचारहरु आइरहेका छन् । माघमा झन् कस्तो हुने हो ? भन्ने आशंका सिर्जना भएको छ ।

चिसोले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवार विहीन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुने गरेका छन् । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न आग्रह गर्दै आएका छन् । जाडोमा खासगरी हातखुट्टा, अनुहार, छाला फुट्ने, फुस्रो हुने हुन्छ । यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ । जाडो मौसम सुक्खा हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ । यस्तो अवस्थामा खानपान र रहनसहनमा समेत उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । झोलपदार्थ खानेकुराका साथै हरियो सागपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्दछ । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ ।

चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन । यो समयमा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ । जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ । यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ । चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ । यस्तै सुप, दाल, खिचडी र रेसादार साग–सब्जी पर्याप्त मात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ । चिकित्सकहरूका अनुसार यो चिसो मौसम मानव स्वास्थ्यका लागि अत्यन्त संवेदनशील हुने भएकाले विशेष सावधानी नअपनाए अनेक थरी स्वास्थ्य समस्या आइपर्छन् । चिसोकै कारण मुलुकका विभिन्न क्षेत्रमा मानिसको ज्यानै गएको खबर पनि आउन थालेका छन् । तसर्थ चिसोबाट बच्न घरभित्र बस्दा र बाहिर निस्कँदा विशेष ख्याल गर्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update