नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको हो । विषादीको जथाभावी प्रयोग चाहिं निकै जोखिमपूर्ण र चिन्ताजनक रहेको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी÷फलफूलमार्फत उपभोक्ताले पनि मन्द रूपमा ‘विष’ खाइरहेका छन् ।
तरकारी र फलफूल बालीलाई रोगकीराबाट बचाउन गलत तरिकाले जथाभावी विषादी प्रयोग हुँदा मानव स्वास्थ्य र पर्यावरण जोखिममा घातक असर परिरहेको छ । विशेष गरी शहरी क्षेत्रका उपभोक्ताको स्वास्थ्यमा बढी जोखिम थपिएको छ । विषादीका कारण दिनप्रतिदिन मानव स्वास्थ्यमा ठूलो असर पर्दै जाँदा विषादीको मात्रा घटाउन भने सरकारी तहबाट खासै पहल भएको पाइँदैन । थोरै जग्गामा धेरै फलाउने र अधिकतम लाभ लिने अभिप्रायले किसानहरूले विषादीको जथाभावी प्रयोग गरिरहेकै छन् । किसानहरुले उत्पादन बढाउनका लागि विषादी प्रयोग बढी गर्दछन् । विषादीको प्रयोगले केही कीराहरू मारेर बाली त बचाइएला, तर आफूले आफैंलाई मारिरहेको यथार्थ नकार्न भने सकिंदैन । यसको असर परागसेचन गर्ने तथा अन्य फाइदाजनक कीराहरू, पशुपन्छी, माटो, मानिस र समग्र वातावरणमा नै पर्ने गर्दछ । विषादी छरेको केही दिनसम्म तरकारी टिप्न नहुने भए पनि सबै किसानले यो नियम पालना गर्दैनन् । बजारमा माग बढी र आपूर्ति कम भएकै बेला आफ्नो उत्पादन बिक्री गर्न सकेमा धेरै पैसा पाइने लोभले कतिपय किसानले जानीजानी उपभोक्तासम्म विष पु¥याइरहेका छन् । यसो गर्नु गलत हो । मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको विषादी प्रयोगमा भइरहेको यो लापरवाही रोकिनुपर्छ । यसर्थ सरकारले किसानका लागि विषादी प्रयोगको विकल्प दिनुपर्छ र किसान, उपभोक्ता स्वयमले पनि विषादी प्रयोगप्रति सावधानी अपनाउनुपर्छ ।