जिसस क्राइस्टको जन्मदिनलाई इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’का रूपमा मनाउँछन् । त्यसो त पछिल्लो समय अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’ मनाउँदै आएको पाइन्छ । जसका कारण यसको रौनक बढेको छ । अहिले ‘क्रिसमस डे’ पर्व मनाउनेहरुको आकर्ष चुलिदो छ । नेपालमा २०६२/६३ को आन्दोलन अघिसम्म चर्चमा सीमित रहने क्रिसमस मुलुक धर्म निरपेक्ष भएसँगै सार्वजनिक रुपमा विस्तार भएको हो । नेपालको अन्तरिम संविधान, २०६३ र नयाँ संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेको छ । धर्म निरपेक्षतासँगै सबै धर्मालम्बीले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडवाड मान्न थालेका छन् । केही वर्ष यता ‘क्रिसमस डे’ मनाउने तौरतरिका फेरिएको छ । अहिले सार्वजनिकरूपमै ‘क्रिसमस डे’ मनाउन थालिएको छ । त्यसैले गैर इसाईहरू पनि ‘क्रिसमस डे’मा रमाउन थालेका छन् । मुलुकलाई धर्म निरपेक्षता घोषणा गरेकाले पनि एक–अर्काको धर्मप्रति मानिसको सद्भाव र सम्मान बढेको हो भन्दा फरक पर्दैन । यो पर्वसँग जोडिएका विभिन्न किसिमका चिह्न एवं संकेतहरुको कारण पनि यो पर्व सबैको साझा पर्वको रुपमा विकास भइरहेको हो । क्रिसमससँग जोडिएर आउने विभिन्न संकेतहरु छन् । जस्तो हरियो रुखमा हिउँ परेको आकृति, रातो र सेतो रंग मिसिएको सान्टा क्लज र अरु पनि त्यस्ता परम्पराहरु क्रिसमससँग जोडिएर आउने पर्वहरु हुन् ।
हिन्दुहरुको महान् पर्व दसैँ तिहार जस्तै इसाई धर्मलम्वीहरुले पनि महान् पर्व क्रिसमसलाई लिने गर्दछन् । नेपालमा विभिन्न जातजाति, भाषा, धर्म मान्ने मानिसहरुको बसोवास रहेको छ । त्यसमध्ये इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष हर्साेल्लासका साथ क्रिसमस मनाउने गर्दछन् । चिसो मौसमसँगै मनाईने यो पर्व क्रिसमसका धेरै पाटाहरु हिउँसँग जोडिएका छन् । विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राइस धर्तीमा आउन पूर्व नै हिउँद्को यो मध्ये समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । क्रिसमसका बेला आयोजना हुने महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृति सद्भाव विस्तार गर्न मद्दत पुर्याउँछ । बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा ’क्रिसमस इभ’ भन्दै सबै धर्मालम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ ।