Shittalpati
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

पाल्पा, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज देशभर मनाइँदैछ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा उधौली पर्वलाई लिने गर्दछन् भने नेवार समुदायले नयाँ धान भित्र्याएको खुशीयालीमा योमरी पुन्ही मनाउने गर्दछन् ।

देशभरका नेवार समुदाय मंगलबार घर–घरमा योमरी (एक प्रकारको रोटी) पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो । विशेष प्रकारले बनाइने यो रोटीभित्र चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो राखिन्छ । यो पूर्णिमाको विशेषता नै योमरी पकाएर खानु हो । त्यसकारण यस दिन अन्य पूर्णिमा जस्तो भोज खाइँदैन । बरु योमरी खाइन्छ । यो दिन नियमित जस्तो खाना खान नहुने विश्वास छ । योमरी विशेष स्वादिलो हुन्छ । योमरी विशेष आकार प्रकारमा बनाइन्छ । चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । धेरैजसोले त्रिकोण आकारमा योमरी बनाउँछन् । वर्षको पहिलो धानको चामलबाट पिठो तयार गरी योमरी बनाइन्छ । यो पर्वका दिन नेवार समुदायमा विशेष उल्लास हुन्छ । यस क्रममा घरका महिला सबेरै उठेर नुहाउँछन् । बालबालिका यो दिन मिठोमसिनो खाएर रमाउँछन् । यो पूर्णिमा एक दिनमै सकिँदैन । पर्वको चार दिनपछि विवाहि छोरीहरूलाई बोलाएर लक्ष्मीको प्रसादको रुपमा योमरी बाँडिन्छ, भोज खुवाइन्छ । योमरीका साथ भोज खुवाउने चलन अहिले पनि नेवार समुदायमा छ । पर्वका दिन योमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ ।

आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउनेपरम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ । यी पर्वहरुको अवसरमा सरकारले  सार्वजनिक विदा समेत दिएको छ । उद्यौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा सरकारले देशभरिका सम्बन्धित समुदायका लागि सार्वजनिक विदा दिएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update