पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरुबाट समाजमा भाँडभैलो मच्चाउने काम भएको छ । धार्मिक होस् वा जातियताका नाममा समाजलाई नकारात्मक प्रवृत्तितर्फ उद्यत् बनाउन मानिसहरु लाग्ने गरेका छन् । पछिल्लो जल्दोबल्दो घटना हो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको अभिव्यक्ति । क्रिसमस फेस्टिबलमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले क्रिश्चयनहरुको मात्रै पृष्ठपोषण गर्दै अन्य धर्म, सम्प्रदायलाई गिराउने खालाका अभिव्यक्ति दिएका थिए । उनले क्रिश्चियन धर्मको विरोध गर्दा संविधानको समेत विरोध हुने भन्दै त्यस्तो अवस्थामा विरोध गर्नेलाई हतकडी नै लगाउनुपर्ने कडा अभिव्यक्ति दिएका थिए । यो उनको अभिव्यक्ति अहिले विवादमा परेको छ ।
अहिले सर्वत्र उनको अभिव्यक्तिकै कारण राजीनामाको माग गरिएको छ । जसले सामाजिक सद्भाव खल्बलिँदै गएको प्रत्याभूति हुन्छ । एउटा विशेष धर्मको पृष्ठपोषण गर्दै त्यसको प्रचारमै उभिएको अवस्थामा उनले सम्हालेको पदीय मर्यादाको समेत उल्लङ्घन हुनपुगेको छ । उनलाई जे मन लाग्यो त्यही बोल्न मन्त्रीको जिम्मेवारी दिइएको होइन । आफ्नो जिम्मेवारी के हो भन्ने कुरा विर्सनु दुखद् हो । यस्तै कुतर्कका कारणले नै समाजमा द्वन्द्व मच्चिने हो । अहिले यस्तै व्यक्तिहरुका कारण समाजमा लडाई, हत्या, हिंसाका घटनाहरु बढ्दै गएका छन् । त्यसले गर्दा शान्ति सुरक्षामा गम्भीर असर पारेको छ । धर्मको आधारमा गरिने जुनसुकै विभेद निन्दनीय छ । यस्तो हुनु भनेको साम्प्रदायिक सद्भावलाई खलबल्याउनु हो । यस्ता गतिविधि अञ्जानमा भइराखेका छन् कि कुनै निश्चित प्रयोजनार्थ भइरहेका छन् भन्ने प्रश्न अहिले अहम रुपमा उठेको छ । यसरी धर्मका नाममा भइरहेका गतिविधिहरूलाई अहिले नै समाधान नगरे नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन । समाजलाई वेथिति गर्न उक्साउने र भड्काउन खोज्नेहरूलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ । तसर्थ सरकारले समाजमा सद्भाव कायम राख्न कानुन कार्यान्वयनमा जोड दिन जरुरी छ ।