तम्घास (गुल्मी), जनशक्ति अभावले जिल्ला अस्पताल गुल्मीमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै उपचारको व्यवस्था मिलाउन भेन्टिलेटरसहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो । करोडौं रुपैयाँ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण अहिले दक्ष जनशक्ति अभावकै कारण प्रयोगविहीन अवस्थामा पुगेका हुन् ।
सघन उपचार कक्ष भवन निर्माण भएपनि दक्ष जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ । आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको हो । जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो । भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आइसियुको सेवा लिन बाहिर जान बाध्य छन् भने अर्कोतर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलाम्य बनेका छन् । ‘भवनको बजेट परेका बेला दलका नेतालाई जस लिन भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन्’, अस्पतालमा सेवा लिन आएका धुर्कोट गाउँपालिका–५ वस्तुका महेन्द्र भण्डारीले भने, ‘छिटोभन्दा छिटो सञ्चालन गरेमा आइसियुको सेवा लिन पाल्पा वा बुटबल जानुपर्ने बाध्यता हट्ने थियो ।’ आइसियुको संरचना निर्माणमा हालसम्म ३५ लाख ५२ हजार तीन सय ६२ र उपकरण खरिदमा ६६ लाख २६ हजार नौ सय २५ गरी कूल एक करोड एक लाख ७९ हजार दुई सय ८७ खर्च भएको छ ।
प्रदेश सरकार अनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको असर अस्पतालमा परेको छ । ‘आइसियू कक्ष सञ्चालनमा आउन नसक्नुमा आवश्यक जनशक्तिको अभाव नै पहिलो कारण हो,’ अस्पतालका प्रमुख डा. विकास बञ्जाडेले भने । उनले पाँच शैयाको आइसियु सञ्चालनका लागि २५ जना दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्ने भए पनि सबै जनशक्ति उपलब्ध नभएको बताए । डा. बञ्जाडेले भने, ‘हामी अहिले जनशक्ति व्यवस्थापनमा जुटिरहेका छौँ ।’ आईसीयू कक्षभित्रका उपकरण अलपत्र छन् । प्रयोगविहीन बनेका मेसिनहरूमा खिया लाग्न थालेको छ । जनशक्ति अभावकै कारण सञ्चालन नहुँदा बिरामीहरू पाल्पा, बुटवल, काठमाडौंका अस्पतालसम्म धाउनुपर्ने बाध्यता छ । भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालन हुँदा गम्भीर प्रकृतिका बिरामीले सहजै उपचार पाउन सक्थे । जसबाट गुल्मी मात्र नभई छिमेकी जिल्ला अर्घाखाँची सहित अन्य जिल्लाका स्थानीयसमेत लाभान्वित हुन सक्छन् ।