कानुनी प्रक्रियालाई वाईपास गरेर सहकारीको मर्म र भावना अनुरुप काम गर्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र नेपालका केही ठूला मिडियाबीच अहिले घम्साघम्सी चलेको छ । त्यति मात्र कहाँ हो र राजनैतिक छविनै धुमिलो हुने गरी सामाजिक रुपमा भनाभन भएका छन् । यस्ता क्रियाकलापले हामी कसैलाई पनि केही फाइदा गर्दैनन् । यस्ता गतिविधीले केही स्वनामधारी वरिष्ठहरुका लागि चन्द समयको रडाको बाहेक अरु केही पनि हुन सक्दैन । चारैतर्फबाट सहकारी अभियान प्रति भएको आक्रमण र सहकारी प्रति वितृष्णा जगाउने खालका अनावश्यक गतिविधिलाई यस्ता क्रियाकलापले ठूलो प्रभाव पार्ने गर्दछ । त्यसकारण यी र यस्ता समस्याहरु समाधान गर्ने तर्फ बसै पक्षले जोड दिनुपर्ने हुन्छ ।
तीन खम्वे अर्थनीति भित्रको एउटा महत्वपूर्ण खम्वाका रुपमा रहेको सहकारी अभियानलाई अहिले जताततैबाट लखेट्ने काम भइरहेको छ । केही राजनेता, जनप्रतिनिधी र सहकारीकर्मीहरुले गरेका आर्थिक अपारदर्शितापूर्ण क्रियाकलापले गर्दा देशैभर सहकारी प्रति हेर्ने दृष्टिकोणमा समस्या उत्पन्न भएको अवस्था छ । सिंगो सहकारी आन्दोलनका विषयमा उठेका नकारात्मक क्रियाकलाप बारे सर्वदलीय हिसावले समस्या समाधान खोजिनुपर्नेमा त्यसो नहुनु र उल्टै सहकारी अभियानसंग जोडेर नेताका लगानी र कम्पनी खोल्ने अनि बन्द हुने प्रक्रियालाई जोड्न थालेपछि सहकारी प्रति झन् भन्दा झन् नकारात्मकता प्रवाह भएका हुन् । यी समस्या एकले अर्काको रामधुलाई गर्ने क्रममा आनन्द भएको अनुभूति गर्ने गरेको भएपछि अन्तत्वगत्वा सहकारी अभियान प्रति नै नकारात्मकता फैलाउने षड्यन्त्र बाहेक अरु केही पनि होइनन् । अन्य राजनैतिक र सामाजिक प्रतिशोधका लागि सिंगो सहकारी अभियान बद्नाम हुनु हँुदैन । गल्ती गरेकै हुन् भने जुनसुकै नेता र निकाय हुन् कार्यवाहीको भागिदार हुनुपर्ने हुन्छ । यदि कहिकतै गल्ती भएको छैन भने यी र सबै समस्याहरुको समाधान यथासमयमै हुनुपर्ने हुन्छ । अन्यथा ‘साँढेको जुधाई, बाच्छाको मिचाई’ जस्तो सहकारी अभियानलाई अनावश्यक मिच्नु भएन ।