पाल्पा, बालविवाह अन्त्यको लागि पाल्पाका स्थानीय सरकार, जिल्ला समन्वय समिति र लुम्बिनी प्रदेश सरकारले सामूहिक प्रतिवद्धता जनाएका छन् । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारको १० वर्ष रणनीतिमा भएका व्यवस्था कार्यान्वयनमा रहेका चुनौती, सम्भावना र स्थानीय तहको भूमिका बारेमा पाल्पामा भएको सामूहिक अन्तक्र्रिया कार्यक्रममा तीन वटै पक्षबाट बालविवाह अन्त्यको लागि सामूहिक प्रतिवद्धता जनाएका हुन् ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, र सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलबस्तुले आयोजना, जिल्ला समन्वय समिति, पाल्पाको समन्वय र युनिसेफको आर्थिक सहयोगमा बाल विवाह अन्त्यका लागि १० वर्ष रणनीति कार्यान्वनमा सरोकारवाला बारेमा तानसेन छलफल भएको हो । पाल्पाबाट बालविवाह अन्त्यको लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा स्थानीय तहका प्रतिनिधि सहित गरी २१ सदस्यीय जिल्लास्तरीय समिति निर्माण गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरीय समिति बनाउने निर्यण गरिएको छ । पालिकाहरुबाट बालविवाह अन्त्यको लागि भएका सम्पूर्ण जानकारी, काम तथा बजेटको बारेमा पालिका पिच्छे फोकल पर्सन तोकी मासिक रुपमा एकिकृत सूचना उपलब्ध गराउने निर्णय भएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पामा १० वर्षदेखि १४ वर्षसम्म विवाह गर्ने पुरुष २.३ प्रतिशत, महिला ९.३ प्रतिशत, १४ देखि १७ वर्षसम्म विवाह गर्नेमा पुरुष ११.८ प्रतिशत, महिला ३२.२ प्रतिशत, १८ देखि २० वर्षमा विवाह गर्नेमा पुरुष २९.७ प्रतिशत, महिला ३५.९ प्रतिशत रहेका छन् । बालविवाह अन्त्यका लागी समुदायस्तरमा व्यापक सचेतना जगाउनु पर्ने, सामाजिक जागरण र आर्थिक रुपमा समुदाय केन्द्रित गरेर रोजागारीका अवसर दिने, शिक्षा र स्वास्थ्य सम्बन्धी सचेतना वृद्धि जस्ता कार्यक्रम स्थानीय तहले नितिगत रुपमै व्यबस्था गरी नियमित कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले सुझाव दिएका छन् । स्थानीय सरकार चुस्तदुस्त र सक्रिय भएमा पाल्पाका सबै पालिकाबाट बालविवाह अन्त्य गर्न सकिने लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ठहर गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले लुम्बिनी प्रदेशमा बालविवाह अन्त्यका लागि भएका कानुनी तथा नीगितग व्यवस्था र सरोकारवालाको भूमिकाको बारेमा जानकारी गराइन् । सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलबस्तुका पूर्व अध्यक्ष एव श्रोत व्यक्ति पोमनारायण पौडेलले बालविवाहको अवस्था र रोकथामका उपायका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, तानसेन नगरपालिकाको उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले तीन तहका सरकारले संयुक्त रुपमा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरी बालविवाहको अन्त्य गर्न सकिनेमा जोड दिए । सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेको स्वागत, जिल्ला समन्वय समितीकी अधिकृत भावना पोखरेलको सञ्चालनमा कार्यक्रम चलेको थियो । कार्यक्रममा पाल्पाका १० वटै स्थानीय सरकारका प्रमुख उपप्रमुख, उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।