Shittalpati
सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित 

पाल्पा,पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि स्थानीय थप  आक्रोसित बनेका छन् । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले गत शनिबारदेखि उद्योगमा ताला लगाए पनि कम्पनीले उनीहरुको मागलाई वेवास्ता गर्दै   जबर्जस्ती ताला फोरेपछि स्थानीय थप  आक्रोसित बनेका हुन् । 

आफुहरुको माग सम्बोधन गर्नुको सट्टा कुनै पनि जनतासँग राय नलिई कम्पनीले जर्बजस्त ढंगले ताला फोर्ने काम गरेको भन्दै स्थानीयहरुले थप संघर्षका कार्यक्रम अगाडि बढाएका छन् । अहिले उनीहरुले उद्योगमा धर्ना र नारा जुलुस गर्दै आएका छन् । पिडितहरुले कम्पनीको काम नै अवरुद्ध गर्दै शुक्रबारबाट फेरि धर्ना र नाराजुलुस गरेका हुन् । स्थानीयले ‘स्वास्थ्य माथिको खेलवाड बन्द गर’, ‘ कम्पनी सञ्चालनको मापदण्ड पूरा गर’, ‘प्रदूषण नियन्त्रण गर’ जस्ता नारा लगाउँदै उद्योग क्षेत्रमा प्रदर्शन गरेका छन् । 
पटक–पटक आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरे पनि कम्पनीले स्थानीयलाई बेवास्ता गरेका कारण आफुहरु थप आक्रोसित बन्नुु परेको स्थानीय केशव पोखरेलले बताए । उनले भने‘ हामीले केही दिन अघि शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्न  ताला लगायौं, हाम्रा माग पूरा गर्न त कहाँ हो कहाँ उल्टै  ताला फोरेर  कम्पनीले हामी माथि दमन गर्न खोज्यौं , त्यसका विरुद्ध हामी थप आन्दोलित हुनु परेको हो ।’  अहिले उद्योगका कुनै पनि काम सञ्चालन नभएको र स्थानीयहरु जुलुस, धर्नामा बसिरहेको पोखरेलले शितलपाटी डटकमसँगको कुराकानीमा बताए ।  आफ्ना माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने उनले बताए । स्थानीय जनप्रतिधिनि, कम्पनीका कर्मचारीसँग पटक–पटक वार्ता भए पनि त्यसले साथर्तकता प्राप्त गर्न सकेको छैन् । स्थानीयहरु अब सामान्य वार्ता गर्ने पक्षमा नरहेको स्थानीय पोखरेलले बताए ।  उनले भने ‘ अब हामी कम्पनीको तल्लो लेवलको कर्मचारीसँग वार्ता गर्दैैनौं, कम्पनीको चियर मेन, प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिहरुसँग भए मात्र वार्ता बस्न सक्छौं अन्यथा हामी सशक्त आन्दोलनमै जान्छौं ।’  

विशेष गरी रिब्दीकोट गाउँपालिका–१ को जोगिथुम, करेचौंर, भाती, रैनादेवी छहरा गाउँपालिका– २ को सोमादी, सर्देवा, छत्रादी, भूतखोला, भोटानी, सिद्देश्वर लगायतका प्रभावित स्थानीयहरु आन्दोलित बन्दै आएका छन् । उद्योगले जवरजस्ती आफ्नो गतिबिधि अगाडि बढाएका कारण स्थानीय तहका जनप्रतिनिधि समेत दिक्क बनेका छन् । ‘सिमेन्ट प्रालीसँग स्थानीयहरु असन्तुष्ट छन्’ रैनादेवी छहरा गाउँपालिकाका–२ वडाअध्यक्ष दानबहादुर पौडेलले भने ‘यहाँको समस्या र गुनासोका विषयमा उद्योग र स्थानीयसँग  निरन्तर छलफल गरिरहेका छौं, तर पनि सहमति हुन सकेको छैन ।’ आफु अहिले पनि उद्योग र स्थानीय बिचको विवाद मिलाउने प्रयासमै रहेको उनले बताए । धूलोधूवाबाट स्थानीय आजित भइसकेकाले यसतर्फ ध्यान दिन र स्थानीयका माग सम्बोधन गर्न पहल गरिरहेको अध्यक्ष पौडेलले शितलपाटीलाई जानकारी दिए । कम्पनीका प्रशासन प्रमुख पदमबहादुर सिंहले भने सहमतिमै ताला खोलेको दावी गरेका छन् । उनले भने‘ हामीले  आफ्नो ताला खोल्न किन जबर्जस्ती गर्नु पर्‍यो र ? सबैको सहमतिमा ताला खोलेका हौं ।’ वडा अध्यक्षको रोहवरमा  नेपाल प्रहरी, स्थानीयहरुको उपस्थितीमा ताला खोलिएको सिंहको भनाई छ । ‘स्थानीयका मागलाई सम्बोधन गर्ने प्रतिवद्धतासहित हामीले ताला खोलेका हौं, तर केही एक/दुई जना स्थानीयका कारण नारा, जुसुल भएको छ ।’ वडाका जनप्रतिनिधिको विश्वासमा आफुहरुले ताला खोलेको प्रमुख सिंहको दावी छ ।  स्थानीयले भने  आफुहरुसँग कुनै पनि सम्झौता नगरी जबर्जस्ती रुपमा कम्पनीले ताला खोलेको भन्दै नारा, जुलुस गर्दै आएका छन् ।  

उद्योगबाट निस्किने धूलोधूवा, तीब्र गतिमा टिपर सञ्चालन, जथाभावी फोहोर जस्ता कुराले वातावरणीय प्रदुषण बढ्दै गएकोले आफुहरु मर्कामा परेको स्थानीयको भनाई छ । सिमेन्ट उत्पादन प्लान्टबाट निस्केको धुलो स्थानीयको घरभित्र पस्ने गरेको छ । धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र बस्तीमा बस्नै नसक्ने स्थिति उत्पन्न भएको स्थानीयको गुनासो छ । सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण तरकारी र गाई बस्तुले खाने घाँसमा समेत असर पुगेको छ । 

(हेर्नुहोस् भिडियो सहित)

 

 


 

 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update