चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार रमेश रिजालको नामबाट टिकट काटेर स्वास्थ्य परीक्षण गर्दै गर्दा उनी पक्राउ परेका हुन् ।
उनलाई सोही मेडिकल कलेजमा निगरानीमा राखेर उपचार गराइएको उनले जानकारी दिए । भर्याङबाट लडेपछि बिरहीलाई परिवारले उपचारका लागि अस्पताल ल्याएको जनाएका छन् । उनी रत्ननगर नगरपालिका–५ निवासी हुन् । विरही अस्पतालमा उपचाररत रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । विरहीले चन्द समूहको प्रकाशन विभाग प्रमुख हेर्दै आएका छन्। उनी तत्कालीन एकीकृत नेकपा माओवादी चितवनको इन्चार्ज छन् । –रासस