पाल्पा,शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउनुपर्नेमा जोड दिइएको छ । बालबालिकाको सिकाइ उपलब्धिमा प्रभावकारी र राम्रो बनाउन शिक्षण सिकाइ माध्यमको भाषालाई बहुभाषिक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।
घरमा मातृभाषा बोल्ने तर विद्यालयमा शिक्षण सिकाइ भाषा अर्को हुँदा सिकाइ उपलब्धी कमोजर भएको भन्दै यसको सुधारका लागि जिल्लाको माथागढी गाउँपालिकाले संवाद थालेको छ । सो संवादमा सरोकारवालाहरुले शिक्षण सिकाइको माध्यमलाई नै बहुभाषिक बनाउन सके विद्यार्थीको सिकाई प्रभावकारी बन्नेमा जोड दिएका हुन् । माथागढीमा अधिकांश विद्यार्थीहरु मगरभाषा मातृभाषा रहेका विद्यार्थी रहेका छन् । ब्रिटिश काउन्सिल नेपालसँगको सहकार्यमा शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति बीच भएको संवादमा शिक्षणको माध्यम भाषालाई बहुभाषिक बनाउने नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । पाालिका अध्यक्ष यमबहादुर चिदीले बहुभाषिक शिक्षण गर्न जरुरी रहेकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकलाई स्थानीय मातृभाषा बनाउने र विद्यालयमा पठाउने सोच राखेको बताए ।
कक्षा ३ सम्म मातृभाषासँगै विद्यार्थीलाई विद्यालयमा शिक्षण गर्ने बनाउन सकिएमा सिकाइ उपलब्धिमा सुधार हुने अपेक्षा रहेको उनले बताए । संवाद कार्यक्रमा प्रमुख अतिथि प्रदेश सभा सदस्य खेमबहादुर सारुले शिक्षालाई श्रम, सीप, रोजगारी, उत्पादनसँग जोड्न अनिवार्य रहेको बताउँदै शिक्षण सिकाइ सतही बन्दै गएकाले बहुभाषिक शिक्षण विधिको प्रयोग र सिकाईलाई गहन बनाउनुपर्ने सुझाव दिए । ब्रिटिश काउन्सिल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत भोगेन्द्र लामिछानेले शिक्षकहरुमा शिक्षण सीपको विकास, गुणस्तरीय शैक्षिक सामग्रीको प्रयोग, शिक्षकहरुमा विषय वस्तुको ज्ञान र व्यवस्थापन समितिको सहयोगबाट शिक्षामा सुधार हुने बताए ।
सक्षम संवाद कार्यक्रम पालिकाका सामाजिक विकास संयोजक राजकुमार पन्थी, व्रिटिश काउन्सिल, नेपालका कार्यक्रम अधिकृत सुर्दशन सुवेदी, व्रिटिश काउन्सिल लुम्बिनीका संयोजक अशेष भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत नित्यानद खनाल, वडाध्यक्ष तेज बहादुर घर्ती, शिक्षा शाखा प्रमुख प्रेम बहादुर बारघरे, सक्षम कार्यक्रम संयोजक लोकेन्द्र थापा लगायतले विद्यार्थीको अवस्था र अभिभावको चाहना अनुसार शिक्षण सिकाई उपलब्धी बढ्ने गरी शिक्षण माध्यमको भाषा छनौट गर्नुपर्ने सुझाव दिएका थिए ।