Shittalpati
ल्होसार र पुसे पन्ध्रको महिमा

पुस १५ विशेष दिनका रुपमा परिचित छ । आजकै दिन तमु ल्होसार पर्छ । यो गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको पात्रो विक्रम सम्वतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरु भएको संकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ती भएको मानिन्छ । तमु ल्होसार कुनै राजनीतिक र धार्मिक घटनासँग जोडिएको पर्व होइन । यो केवल प्रकृतिसँग सम्बन्धित पर्व हो । यो एक साझा पर्व हो । यसको अन्तर्राष्ट्रिय सम्बन्ध पनि छ । पश्चिमेली विद्वानहरूले वर्ष दिनभरिमा २२ डिसेम्बरको रातलाई सबैभन्दा लामो रात भनेका छन् । त्यसैगरी वर्ष दिनभरि २१ जुनलाई सबैभन्दा लामो दिन भनेका छन् । यसमा नेपालको मान्यतालाई दाँजेर हेर्दा नेपालमा असार १५ सबैभन्दा लामो दिन मानिन्छ । उक्त दिन जुन २१ मा पर्छ र असारको नजिक नजिक हुन्छ । त्यस्तै, पुस १५ र २२ डिसेम्बर नजिक–नजिक पर्छन् । पुस १५ को दिनमा नभईकन पुस १५ भन्दा ६–७ दिनअघि पुसको ६–७ गतेदेखि नै दिन लामो हुँदै जान्छ । यो आभास हामीले गरिसकेको हो । पुस १५ गतेदेखि दिन लामो हुँदै जान्छ भन्ने पहिलेदेखिको मान्यता हो ।

सबै चाडपर्वको आ–आफ्नै महत्व र महिमा छ । प्रत्येक चाडपर्वको उद्देश्य फरक–फरक छ । जसरी भौगोलिक रुपमा विविधतायुक्त रहन्छ त्यसैगरी संस्कृतिमा पनि विविधतायुक्त रहने गर्दछ । त्यस्तै पुस १५ अन्य समुदायमा पनि विशेष रहने गर्दछ । पुस १५ मा खाजा खाने प्रचलन रहेको छ । घरपरिवारमा मिठो मसिनो खाने, साथीभासँंग वनभोज जाने प्रचलन देखिन्छ । यसैगरी मगर युवा–युवतीहरूले पुस १५ को दिनमा खुवा खाएर आफ्नो जीवनसाथी रोज्छन् । गुरुङहरूले दिन लामो हुँदै जाने पुस पन्ध्रलाई नयाँ वर्ष मान्छन् । यसलाई तिब्बती भाषामा लोसार भनिन्छ । ‘लो’ भनेको वर्ष र ‘सार’ भनेको नयाँ हो । यही ल्होसारलाई नेपालका थकाली तामाङ र गुरुङले ल्होछार भन्छन् । ‘ल्हो’ बाट ‘लो’ र ‘सार’बाट ‘छार’ भएको छ । लोसार तिब्बती भाषाको शब्द हो र ल्होछार चाहिँ गुरुङ भाषाको शब्द हो । पहाडी समुदायमा पुसे १५ लाई पर्वकै रूपमा लिने गरिएको पाइन्छ । यस्ता पर्वहरूले आम नेपालीलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यसर्थ आज परेको पुस १५ र ल्होसार पर्वले धार्मिक सहिष्णुता, एकता र बन्धुत्व कायम गर्न सकोस् सबैमा शुभकामना !

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update