Shittalpati
आज ‘पुसे पन्ध्र’ र ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

सीमा भट्टराई

पाल्पा, आज ‘पुसे पन्ध्र’ र तमु ल्होसार पर्व धुमधामका साथ मनाइँदैछ । विशेष गरी मगर समुदायसँगै अन्य जातिले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउन लागेका हुन् । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउने गर्दछन् । हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरिएको पुराना पुस्ताहरु बताउँछन् ।

आजको दिन सबै परिवार एकै ठाउँ बसेर रमाइलो गरिन्छ । यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यता रहेकाले पाल्पा, गुल्मी लगायत देशैभरका बजार क्षेत्रमा शनिबार तरुल किन्नेको घुइँचो लागेको थियो । नेपालका केही केही स्थानमा गाउँखाने र दन्त्य कथा सुन्ने तथा सुनाउने मौलिक पर्वका रुपमा ‘पुसे १५’ लाई लिने पनि गरिन्छ । यस दिन राति कथा तथा लोककथा सुन्दै र सुनाउँदै मीठा मसिना परिकार खाएर रातभर जाग्राम बस्ने गरिन्छ । लोकसंस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा पुसे १५ मनाउने गरिन्छ । यो पर्वमा दिनमाभन्दा रातिको समयमा एक ठाउँमा भेला भएर मीठो मसिनो खाँदै कथा तथा दन्त्य कथा सुनाउनुलाई विशेष महत्वका रुपमा लिने गरिएको छ । पुसे १५ मा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने गरेको पाल्पा रैनादेवी छहराकी मुना रायमाझीलाई अझै सम्झना छ । यो पर्वमा विवाह भएर गएकी छोरीलाई पनि घरमा बोलाई भव्य रूपमा स्वागत सत्कार गर्ने गरिन्छ ।

विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ । पहिले पहिले तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट पुस १५ मै पिक्नीक अर्थात् ‘वनभोज’ खाने गरिन्थ्यो । पुस १५ मा घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘वनभोज’ जाने र मीठामीठा खानेकुरा खाने चलन पनि विगतदेखि नै चल्दै आएको हो । आजकै दिन गुरुङ समुदायले ‘तमु ल्होसार’ अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update