Shittalpati
रायमाझी कूलदेवता तानसेन नगर समितिद्वारा जेष्ठ नागरिक सम्मानित

पाल्पा, रायमाझी कूलदेवता तानसेन नगर समितिले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिले आइतबार  तानसेनमा २० औं साधारण सभाको अवसरमा ५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

जेष्ठ नागरिक तथा नगर समितिका सभापति देबेन्द्र बहादुर रायमाझी, उनको धर्म पत्नी राधादेबी रायमाझी, समितिका सदस्यहरु मुना रायमाझी, बिष्णु रायमाझी, बालकुमारी रायमाझीलाई समितिले सम्मान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि,रायमाझी कूलदेवता समिति पाल्पाका सभापति झलकबहादुर रायमाझीले सल, माला ओढाएर सम्मान गरेका थिए । जेष्ठ नागरिकलाई सम्मान गर्दै प्रमुख अतिथि रायमाझीले तानसेन नगर समितिले जेष्ठ नागरिकको योगदानलाई सम्मान गरेर प्रशंसनिय कार्य गरेको बताए । उनले अग्रजहरुले देखाएको बाटोमा समिति हिडेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न समितिलाई आग्रह गरे । समितिले रायमाझी बन्धुहरुलाई एक ठाउँमा ल्याउने काम गरेको र कुल खोज्दै बन्धुहरु जोडिने क्रम समेत बढदै गएको रायमाझीले बताए । उनले दुखी र अफ्ठ्यारोमा परेकाहरुलाई  सहयोग गर्नु पर्नेमा जोड दिए । छहरामा हुने कुल पुजालाई आगामी दिनमा थप ब्यवस्थित गर्दै जाने समेत उनले बताए ।

समितिका सभापति देवेन्द्र बहादुर रायमाझीले बन्धुत्वको भावना उजागर गरी अन्य समुदाय र वर्गलाई पनि एक शुत्रमा बाध्न रायमाझी बन्धुहरु उदाहरणीय र अनुकरणीय रहेको बताए । उनले रायमाझी बन्धुहरुमा परेको समस्यालाई समाधान गर्न समिति सधैव तयार रहेको धारणा व्यक्त गरे । कार्यक्रममा लक्ष्मणबहादुर रायमाझी, कृष्ण  रायमाझी, नारायण रायमाझी, मुना रायमाझी लगायतले  समितिलाई अझ मजबुद र सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा समितिका सचिव खिमबहादुर रायमाझीले समितिको आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिले हरेक वर्ष रायमाझी बन्धुुहरु मध्येबाट ७५ वर्ष पुुगेका जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । समितिका सभापति देवेन्द्रबहादुर रायमाझीको सभापतित्व, सदस्य केशव बहादुर रायमाझीको स्वागत, सचिव खिमबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update