Shittalpati
आज राष्ट्रिय टोपी दिवस मनाइँदै

पाल्पा, राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ पाल्पासहित देशभर दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो ।

 मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपालमा मात्रै नभइ विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन् । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिँदै आएको छ । दिवसका अवसरमा आज पाल्पामा पनि पाल्पाली युवाहरु तथा विभिन्न संघ–संस्थाको सक्रियतामा टोपी दिवस मनाउन लागिएको छ । ढाका टोपी दिवस भने पनि नेपाली पुस्ताले ढाका टोपीसँगै भादगाउँले टोपीको पनि महत्व बुझ्न जरुरी छ ।

प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रो लागि त्यही भेष नेपालमा लिएर आएका कथाहरू पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास हुन् । ढाका नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान । ढाका टोपीको इतिहासलाई हेर्दा भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्लादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ । नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update