Shittalpati
राष्ट्रिय एकताको कुरा गर्ने काँग्रेस आफैं छिन्नभिन्न

पाल्पा, आज पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस । बिपी कोइरालाले आजभन्दा ४७ वर्षअगाडि यसै दिन सबै खाले राजनीतिक एवं व्यक्तिगत जोखिमको परवाह नराखी देशको अस्तित्व संकटमा परेको महशुस गरी राष्ट्रियता र देशको अस्तित्वका लागि ‘राष्ट्रिय एकता र मेलमिलाप’को प्रस्ताव राखेका थिए ।       

 तत्कालीन भारतीय पक्षले बीपीलाई अन्तिम अवस्थामा स्वदेश फर्कनबाट रोक्ने प्रयास गरे पनि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर उनी स्वदेश फर्किएका थिए । आफ्ना राजनीतिक सहपाठी गणेशमान सिंहका साथ दर्जनौँ कार्यकर्तासहित भारतको स्वनिर्वासनलाई परित्याग गर्दै बिपी स्वदेश फर्केको आजको दिनलाई विगतदेखि नै नेपाली काँग्रेसले ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । तर राष्ट्रिय एकताको कुरा गर्ने देशको ठूलो पार्टी काँग्रेस आफैं छिन्नभिन्न अवस्थामा छ । सोमबार देशभर दिवस मनाइरहँदा काँग्रेस भने चरम गुटबन्दीमा फसेको छ । एउटा पक्ष एक्लौटी रुपमा पार्टी सञ्चालन गर्ने गरी अगाडि बढेको छ भने अर्को समूहले पार्टीको बैठक बहिष्कार गर्नुको साथै गुटका बैंठक गर्दै आएको छ । बिपीलाई काँग्रेसजनले नै साचो अर्थमा जीवनभर चिन्न र बुझ्न सकेनन् । काँग्रेसजनले नै बीपीको दर्शन, सिद्धान्त, व्यवहारलाई मनन् गरेर आत्मसाथ गर्न नसक्नु पार्टी र देशकै लागि विडम्वना र दुर्भाग्य हुँदै आएको छ । 

मेलमिलाको कुरा गर्ने काँग्रेस आफै भित्र एक जुट नहुनु दुखद् भएको काँग्रेस पाल्पाका युवा नेता राजेन्द्र गोपाल सिंहले बताए । उनले बिपीको मेलमिलापको नीतिलाई काँग्रेसले आत्मसाथ गर्न नसक्दा लोकतन्त्र र गणतन्त्र थप कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । नेता सिंहले भने ‘जनताको अधिकार स्थापनाका लागि जीवनभर संघर्ष गरेका बीपी कोइरालादेखि गणेशमान सिंहसम्मले नेतृत्व गरेको पार्टी काँग्रेस हो । नेताहरू इतिहास रक्षा गर्न र पार्टीको गरिमा बचाउन लाग्नुपर्नेमा, आफ्नो स्वार्थ पूरा गर्न पार्टीलाई भद्रगोल बनाउन लागेका छन् ।’ जबसम्म काँग्रेसले बिपीको मेलमिलाप नीतिको मर्मलाई आत्मसाथ गर्दैन तबसम्म सरकार र संगठन बन्न नसक्ने उनको भनाई छ । नेता सिंहले नेताहरुका कारण जनाताहरुमा नैराश्यता पैदा भएकाले काँग्रेसले मेलमिलापको नीतिलाई सही ढंगले कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए ।

राष्ट्रिय एकतामा जोड दिने बीपीकै पार्टीमा एकताको खाँचो रहेको काँग्रेसका पुराना नेता शिवचन्द्र खनालले औल्याए । आफु भित्रै लडेर पार्टी र देशले निकास पाउन नसक्ने भन्दै उनले पहिला काँग्रेस आफैं एक हुनुपर्ने बताए । नेता खनालले भने ‘बिपीको मेलमिलाप नीति अहिले झन् सान्दर्भिक बन्दै गएका बेला काँग्रेसले त्यसलाई विर्सन हुँदैन, सिद्धान्तमा मेलमिलापको खोल ओड्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने गर्नु हुँदैन ।’ काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवसका अवसरमा कार्यक्रम गर्दै आए पनि संस्थापन र असन्तुष्ट समूहको विवाद चुलिँदो छ । सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठक अर्काे पक्षले बहिष्कार गर्दै आएको छ । सभापति देउवा पेलेरै अगाडि बढ्न खोजेपछि अर्को समूह चिढिनुले मेलमिलापको नीतिलाई गिज्याइरहेको छ । काँग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ–आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला पनि राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएको भन्दै २०३३ साल पुस १६ गते स्वदेश फिर्ता भएको सम्झनामा मेलमिलाप दिवस मनाउने गरिएको हो ।

त्यसबेला कोइरालासँगै सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वाशित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । नेपाल फर्किएका कोइराला सहित नेताहरूलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै बन्दी बनाएर सुन्दरीजल पुर्‍याइएको थियो । काँग्रेसले त्यसयता पुस १६ लाई मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update