Shittalpati
निस्दीका आगलागी पीडित  परिवारलाई काँग्रेसको सहयोग

पाल्पा, नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ (क) ले आगलागी पिडित परिवारलाई सहयोग गरेको छ । यही पुस ७ गते कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी हुँदा घरबार बिहिन भएका जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ्का श्याम बहादुर पल्लीको परिवारलाई काँग्रेसले खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो । 

काँग्रेसको एक टोली पिडितको घरमै पुगी ४० हजार बराबरको खाद्यान्न र लत्ताकपडा प्रदान गरेको छ । उक्त खाद्यान्न र लत्ताकपडा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पिडित परिवारलाई हस्तान्तरण गरेका हुन् । राहत सामग्री वितरण गर्दै  सभापति श्रेष्ठले दुखको बेलामा केही भए पनि राहत दिलाउन काँग्रेस पिडितको घरमा आएको बताए । उनले प्राकृतिक विपत्तिमा परेका जनताहरुसँगै नेपाली काँग्रेस पनि सँगै रहेकाले दुखमा नआत्तिन आगालागी पिडितलाई सान्त्वना दिएका छन् । काँग्रेसले सुरक्षित आवासका लागि सम्बन्धित निकायसँग समन्वय गरिदिने समेत सभापति श्रेष्ठले बताए । उनले केही दिन अघि जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुका लागि काँग्रेसले एकद्वार प्रणालीको माध्यमबाट ५० लाख राहत कोषमा रकम जम्मा गरेको र एक हजार भन्दा बढी अस्थायी टहरा निर्माणमा समेत सहयोग गरेको स्मरण गराउँदै काँग्रेस जनताको सुख दुखमा साथ दिने पार्टी भएको बताए । सभापति श्रेष्ठले भने‘ काँग्रेस मिसन ८४ मात्र लिएर हिड्ने पार्टी होइन्, गरिब जनताको लागि सधै मिसन बनाएर हिड्छ ।’ उनले  घरमा दुख र पिडा पर्दा समेत काँग्रेसलाई सम्झिन सबैलाई आग्रह गरे । 

पार्टीका जिल्ला सभापति श्रेष्ठ सहित काँग्रेस नेताहरु राजेन्द्र गोपाल सिंह, शान्ति झेडी, अमिर राना, कृष्ण अधिकारी, श्यामकान्त खनाल, रामु राना लगायतको टोलीले घरमै पुगेर पिडित परिवारलाई खाद्यन्न, सुत्ने, ओढ्ने लत्ताकपडा सहयोग गरेको हो । पुस ७ गते शनिबार गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी हुँदा घर गोठ  जल्नुुको साथै ९ महिने बालिकाको ज्यान समेत गएको थियो । गोठमा रहेका बाख्रा, भैसी समेत जलेर मरे भने घरमा रहेका अन्न, लत्ताकपडा, भाँडाकुँडासहित सबै धनमाल जलेर नष्ट भएको थियो । घर जलेपछि उनीहरु अहिले त्रिपालमुनी बस्दै आएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update