पाल्पा, मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ देशभर हर्सोउल्लासका साथ राष्ट्रिय टोपी दिवस मनाइए पनि ढाकाको राजधानी पाल्पामै त्यसको बेवास्ता गरिएको छ । पाल्पालाई २०७८ साल फागुन ११ गते तानसेन नगरपालिका र संघीय सरकारले तामझामका साथ ढाका कपडाको राजधानी घोषणा गरेको थियो तर टोपी दिवसका दिन पाल्पा ढाका संघ, पाल्पाली ढाका कपडा उद्योग, ढाका कपडा व्यापारीहरुले टोपी दिवसको कुनै औचित्य देखेनन् ।
विगतमा तानसेनमै दिवस मनाउने गरिए पनि ढाका राजधानी घोषणा भए यता कार्यक्रम नै हुन छाडेका छन् । यहाँ आउने पर्यटकहरु समेत पाल्पामा टोपी दिवस नमनाउँदा अचम्मित छन् । पाल्पा घुम्न आएकी चितवनकी मैना पाण्डेले अन्तर्राष्ट्रिय टोपी दिवसमा तानसेनमा विशेष कार्यक्रम गरिनु पर्ने हो त्यसो कहि कतै देखिएन, पसलहरुमा टोपी किन्दा छुट अफर होला भन्ने लागेको थियो तर ढाकाको राजधानीमा नै टोपी दिवसको महत्व नदेखिएको बताईन् ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले टोपी दिवसको अवसरमा कोहि संघ संस्था उद्योगी व्यवसायीले केहि कुरा कानी पनि गरेनन्, कहि कतैबाट दिवस मनाउन प्रस्ताव पनि नआएको बताए । पाल्पाली ढाका कपडा उद्योगीहरुको एकिकृत संस्था पाल्पा ढाका संघले पनि टोपी दिवसलाई कुनै महत्व दिएन ।
पाल्पाको पहिचान ईतिहास र ढाका कपडासँगै शिरमा लगाउने टोपीलाई ब्राण्डिङ गर्नको लागि तत्कालिन नगर सरकारले ढाका कपडाको राजधानी घोषणा गरे पनि अहिले सरोकार वाला निकायको बेवास्ता देख्दा साच्चै लापरवाही र लाजमर्दाे काम भएको तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाहीले बताए । सरोकारवाल निकायले माल पाएर पनि चाल पाएनन, कुरा पर्यटनका गर्ने तर जुन ठाउँमा टोपी उत्पादनको खानी छ त्यही ठाउँमा टोपी दिवसलाई ध्यान नदिनु निकै दुःखद पक्ष भएको निवर्तमान नगर प्रमुख शाहीको भनाई छ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपालमा मात्रै नभइ विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा भने तस्वीर पोस्ट गर्ने गरेका छन् ।
पाल्पाबाट वार्षिक लाखौं रुपैयाँको ढाका टोपी विक्रि हुुँदै आएको छ । एउटा पाल्पाली ढाका टोपीको मूल्य २ सय देखी ३ हजारसम्म पर्ने गरेको छ । तानसेनमा मात्र १३ वटा ढाका उद्योग रहेका छन् दर्जनौ ढाका व्यापारीहरुबाट ढाकाको कारोवार हुँदै आएको छ । एउटा ढाका व्यापारीले मासिक ५० हजारदेखी एक लाखसम्म ढाका कपडाबाट आम्दानी गर्दै आएका छन् । तानसेन स्वं गणेशमान महर्जनले वि.सं २०१६ सालमा स्वदेशी बस्त्रालयको नाममा ढाका कपडा उद्योग सञ्चालन गरेका थिए । महर्जनले ढाका कपडा उत्पादनको लागि तालिम दिने, उद्योग स्थापना गर्ने देखि देशव्यापी रुपमा ढाका कपडाको प्रचार–प्रसार गर्ने अभियान सञ्चालन गरेका थिए । पाल्पाली ढाका कपडाहरु टोपी, चोलो, पछ्यौरा, साडी सल जस्ता उत्पादनहरु अझै पनि लोकप्रिय उत्पादनको रुपमा रहेका छन् । पाल्पामा वार्षिक रुपमा करोडौ रुपैयाँको ढाका कपडाको कारोबार हुुँदै आएको छ ।