Shittalpati
लुम्बिनी प्रदेशसभा : विषयगत समितिको निर्वाचन नहुने

पाल्पा, आज हुने भनिएको लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन नहुने भएको छ । निर्वाचनका लागि आवश्यक तयारी पुरा नभएकाले पुस १७ का लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । आइतबार प्रदेशसभा सचिवालयले समेत एक सूचना जारी गर्दै  निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने समेत जनाएको छ ।

सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विशेष कारण देखाउँदै निर्वाचन स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा भनिएको छ । ‘मिति २०८० साल पौष महिनाको १७ गते मंगलबारका दिन हुने गरी पूर्व सूचना अुनसार निर्धारित विषयगत समितिको सभापतिको निर्वाचन माननीय सभामुख ज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशित नभएसम्मको लागि विशेष कारणबस स्थगित भएको व्यहोरा माननीय सदस्य ज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ । प्रदेशमा दुई वटा सरकार गठन भइसके पनि प्रदेश सभाको संसदीय समिति सभापति चयन हुन नसक्दा सर्वत्र आलोचना भएपछि मिति तोकिएको थियो । तोकिएको मितिमा समेत निर्वाचन नहुने भएको छ ।

सभामुख घर्तीको अध्यक्षतामा अघिल्लो साता बसेको कार्यव्यवस्था परामर्श समितिको आठौँ बैठकले यही पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तय गरेको थियो । समितिको नेतृत्वका लागि मिति समेत तोकेर अन्तिम समयमा स्थगित गरिएकामा सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । प्रदेशसभाले गत असार ३० गते ६ विषयगत समितिका सदस्य चयन गरेको थियो । तर समितिका सभापति चयन नहुँदा समिति कामविहीन बनेका छन् । प्रदेशसभा सचिवालयका अनुसार अहिलेसम्म प्रदेशसभा सामाजिक विकास समितिको बैठकले स्वास्थ्यसम्बन्धी विधेयक छलफल गरेर संसद् पठाएको र प्रदेश मामिला तथा कानुन समिति र अर्थ, उद्योग तथा पर्यटन समितिले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बसेका थिए । प्रदेशसभा नियमावली २०७९ मा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update