जगन्नाथ पन्त
अंग्रेजी नयाँ वर्ष २०२४ को शुरु दिनमा एक जना वृद्ध सज्जन महोदयसँग बुटवल बस पार्कमा भेट भयो र रात्रिकालिन सेवाको बसमा ए को ५, ६ नं. सिटमा यात्रा गरियो । करिव १२ घण्टाको समयसँगै यात्रा गर्दा उहाँबाट धेरै विषयमा कथनहरु सुनियो । नाम र ठेगाना साटासाट भयो उहाँ अर्घाखाँची र म गुल्मीको । यात्राका क्रममा जीवन,जगत , धर्मकर्म र सार्वजनिक क्षेत्रका विषयमा उहाँले लामै कहानी बताउनु भयो । उहाँ वाचक र म स्रोताको रुपमा रहेर गरिएको यात्रा र गन्थन मन्थनलाई यहाँ संस्मरणमका रुपमा उल्लेख गर्ने प्रयास गरेको छु ।
यसरी सुरु गर्नुहुन्छ सज्जन महोदय : चन्द्रमा देवलाई सोम पनि भनिन्छ । दक्ष प्रजापतिका छोरीहरु मध्ये ९ वटीसँग चन्द्रमाले विवाह गरेका थिए । चन्द्रमा अत्यन्तै सुन्दर भएकाले अरु स्त्रीहरु पनि उनीप्रति आकर्षित हुन्थ्ये । चन्द्रमाले बृहस्पति कि पत्नी तारासँग संसर्ग गरेर बुध जन्मे छन् । यो थाहा पाएर पार्वती माता अर्थात् महादेवकी पत्नी , दक्ष प्रजापति कि जेठी छोरी सतिदेवी कि अर्को रुप पार्वती जो हिमालय पर्वत कि छोरी रुप लिइकि थिइन , क्रोधित भईछन् । मेरा ९ वटी बहिनीले नपुगेर सोमले तारासँग पनि संसर्ग गरे छन् भनेर । त्यतिबेला महादेव र पार्वती नर्तनाचल पर्वतमा विहार गरी बसेका रहेछन् । सोम महादेवका परम प्रिय भक्त भएकाले महादेव र पार्वतीको दर्शन गर्न भनि नर्तनाचल पर्वतमा गए छन् । महादेवका अर्का भक्त दशानन रावणले जटाटवी मन्त्रोचारण गरी ताण्डव नृत्य गरेकाले त्यो पर्वतको नाम नर्तनाचल रहन गएको थियो । कालान्तरमा अपभ्रशं हुन गई नरपानी भए छ । त्यसकै फेदिमा शूर्पहस्ता देबीको मन्दिर छ । जुन आजकल सुपा देउराली नामले प्रसिद्ध छ । सुपा देउराली नजिकै सोम धाम अथवा सोम तिर्थ पनि छ । चन्द्रमाले त्यस ठाउँमा बसेर महादेवको आराधना गरेकाले सोम धाम नाम रहन गएको हो । सोम भनेको पर्वतमा पाइने अमृत बुटि पनि हो । त्यो बुटिको रस पानले उर्जा , बल र तेज प्रदान गर्दछ । यत्तिकैमा दाउन्नेको उकालोमा विपरित दिशाबाट आउँदै गरेको ट्रकसँग बस झण्डै जुधेको । म डराएको देखेर केहि हुन्न भाई म शूर्पहस्ता मन्त्र र स्तुति भन्छु , सुरक्षा हुन्छ भन्दै उहाँले फलाक्न थाल्नुभयो :
मन्त्र
ध्यौरासीत पूर्वारचत्तिरश्वर आसिद् बृहद वय :
आविरासीत् पिलिप्पिला रात्रीरासीत् पिशङ्गिला
शुक्ल यजु २३ / ५४
स्तुति अलि लामो छ ध्यान दिएर सुन है भन्दै झन् ठूलो स्वरमा
ॐसोमेश्वराङ्कनिलया शशाङ्ककृत शेखराम्
नमामि शूर्पहस्तां तां नर्त्तानाचलवासिनीम्
ॐ आर्यां सोमेशभार्या हिमरुचिमुकुटां गौरवर्णा त्रिनेत्रम्
सिद्धानध्यास्तटस्थां रिपुदल नकरीं शूलिनीं शूर्पहस्ताम्
भक्तानां कष्टहन्त्रीं त्रिभुवनजननीं नित्यकारुव्य रुपाम्
वन्देहं नर्तनाद्रेः शिखरविलासितां भक्तकामप्रदां त्वाम् ।
यति भने पछि बुझिउत भन्नुभयो ? केको बुझ्नु बुझिन भने । तपाईलाई त संस्कृत पनि आउने रछ भनेको । दुर्वासा ऋषिले तपस्या गरेको ठाउँको हुँ म । दुर्वासा गुफा खिदिम दुर्गाफाँटमा छ नि । पहिले त्यहाँ संस्कृत पाठशाला थियो । पश्रित भन्नेले नि त्यहि सिकेको । तर पछि के जाती भएछ , धर्मकर्म गर्न हुन्न भने छ , अहिले बुढेसकालमा मति फिरोरे भन्छन् , होम ,पाठ पनि गर्छरे गौथली गोडमा भन्छन् केरे था छैन् होला तिमिलाई भन्नुभयो । दुर्वासा गुफा त गएको छु अरु था छैन भन्नुभयो । अरु नि के के सोध्न थाल्नुभयो , सबै थाहा छैन् भनेसि चुप लाग्नुभयो र निदाम्ला भनेको गनगन गर्न छोड्नुभएन । रिसाएकी पार्वतीले महादेवको त्रिशुले प्रहार गर्दा चन्द्रमालाई चोट लागेकाले नै अहिले पनि चन्द्रमामा टाटो अर्थात् दाग देखिन्छ । चन्द्रमालाई देख्न नसहेर पार्वती माता अन्तर्धयान भई बसेको स्थानमा देबी स्वरुव मूर्ती प्राकट्य भएको अहिलेको सुपा देउराली मन्दिरमा रहेको विग्रह पार्वतीको हो भन्ने सोम कथामा छ । सुपा देउरालीको पर्वत काटेर मोटर बाटो बनाउँदा मन्दिर पनि केहि तल सारिएको हो । यद्यपि मन्दिरको वरिपरी अग्ला पहाड छदैछन् , अर्थात् नर्तनाचल पर्वत । जमानामा मेरो गाउँको ठिटोले गोर्खा पल्टनमा भर्ति हुन पाउँ । एक तोलाको सुनको पर्तिमा चढाउने छु भनेर भाकल गरेछ । भर्ति भइ तीन वर्षपछि पहिलो छुट्टिमा घर आउँदा सुनको पर्तिमा पनि ल्याए छ । तर मन्दिर नजिक पुग्नै लाग्दा मति बिग्रेछ । अर्को डाडोको बाटो जान्छु , बिहे गर्नु छ ,सुनको गहना बनाउछु , जीउडाँल हृष्टपुष्ट थियो र भर्तिमा लिएको भनेर बाटो छड्किन लाग्दा शूर्पहस्ता देवीले बेइमान गर्छस् भनि रिसाएर त्यस लाहुरेलाई पल्टनको पोषाकको कठालो समातेर भिरमा भित्तामा टासी दिइछन् ।अहिले पनि त्यो पहाडको चट्टाने भिरमा पल्टनको पोषाक लगाएको लाहुरे टाँसिएर अड्केको अड्कै छ । आजकल चुनढुङ्गा भनेर खानी खनेर धुलो उढाउने ,पर्वत खोतलेर मान्छेले प्रदुषण गरे , विहार गर्नै गाह्रो भो भनेर महादेव नर्तनाचल जान छोडे । काठमाडौं गएरै महादेव भेटौ भनेर र गाउँको अहिलेको लाउरेले पल्टन फेरेर हो कि वा कोर्ट मासल गर्न पर्ने भएरै हो काठमाडौंमा अध्यारो कोठीमा टाँसेर राखेका छन् रे उसलाई पनि भेट्छु भनेर काठमाडौं जान लागेको हुँ यात्रा प्रयोजन पनि बीचमा थप्नु भयो ।
हुन त नरपानी पर्यटकीय स्थलमा विकास हुँदै गइ रहेको छ । नजिकै महादेवको डमरु बनावटको ताल जुन डमरु तालले चिनिन्छ त्यो मास्न सकेका छैनन् । त्यसकै समीपमा ढुङ्गाको ठूलो शंख पनि छ । महादेवले सुन्ने गरि रावणले बजाउन निर्माण गरेको शंख भएकाले त्यस पाषाण शंखलाई रावणको शंख भनिन्छ । अर्घाखांचीमा उल्लेखित पौराणिक भूमिका साथै नालान्द विश्व विद्यालयको प्राध्यापन पेशा छोडेर आई पाणीनी ऋषीले तपस्या गरी संस्कृत व्याकरणको सृष्टि गरेको पाणीनी धाम,महा भारत युद्धमा कौरवलाई साथ दिन पनि सक्ने आकाक्षां जनाएका कारण पाण्डवको हार नहोस् भन्नका लागि वचनमा पारि श्रीकृष्णले शिर छेदन गरिदिएको तर शिर जीवितै रहेको बर्वरिकको शिर राखिएको छत्रदेव महाराजको मन्दिर , पतञ्जलीको जन्मस्थली (झिमरुक नदीको तल्लो तट )समेत अरु पनि पबित्र स्थल, मनचिन्ते कुवा , जंगबहादुर जन्मेको कि न्वारन भएको पौवा छन् ’ भनिरहनुभएको रहेछ म भसक्कै निदाएछु । अरु सुन्न छुटे । बिउँझिदा नागढुङ्गा चेक पोष्ट आइसके छ । शूर्पहस्ता देबी पार्वती हुन बली खादिनन् , तर पनि दैनिक सयौ बलि किन चढाउछन् । दुर्गा मन्दिरमा उनको वरिपरी , चतुसष्टि योगिनी, डाकिनी , साकिनी आदि आसेपासे हुन्छन् र पो तिनका लागि बलि दिने हो ’ भन्दै ति सज्जन महोदय कलंकीमा ओर्लिनु भयो म बसपार्कमा । मोवाइल नं. साटासाट गर्न बिर्सिए छ । नं. लिएको भए अरु नि सोध्न , सुन्न पाइने थियो । अलिकति पछुतो लागिरहेको छ ।