Shittalpati
सरकारबाट सहयोग नभए मिडिया हाउस बन्द हुन्छन्  : पाल्पाली पत्रकार

पाल्पा,  पाल्पाका पत्रकारहरुले  सरकारबाट पर्याप्त सहयोग नभए अधिकाश मिडिया हाउस बन्द हुने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको ३२ औ स्थापना दिवसमा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले अहिलेकै अवस्थामा सरकारले सहयोग नगर्ने हो भने मिडियाहरु बन्द हुने बताएका हुन् । 

उनीहरुले मिडिया बन्द हुन पुुग्दा पत्रकारहरुसमेत विस्थापित हुने अवस्था आउने भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुुपर्नेमा जोड दिएका छन् । पत्रकारहरु विस्थापित भई संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्न सक्ने  भन्दै पत्रकारहरुले मिडिया हाउस बचाउन र पत्रकारहरुलाई विस्थापित हुनबाट जोगाउन  सरकारले ठोस नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले केही बर्ष यता पत्रकार र मिडिया हाउसको अवस्था नाजुक बन्दै गएकाले राज्यले संरक्षण गर्नुपर्ने बताए । संस्थापक अध्यक्ष शर्माले  जिल्लाका मिडिया हाउस  तथा पत्रकारहरुलाई बचाउनका लागि तीन तहकै सरकारबाट समानुपातिक विज्ञापनको व्यवस्थाका लागि जोडदार माग गर्दै आए पनि सरकारबाटै कार्यान्वयन नभएको बताए । पत्रकार समाजको ऐना भएकाले स्वअनुसासित भई सत्य, तथ्य, निष्पक्ष बस्तुनिष्ट भएर जनमुखी भई पत्रकारिता गर्नुपर्नेमा संस्थापक अध्यक्ष शर्माले जोड दिए । 

महासंघका सल्लाहकारहरु झपेन्द्र गहिरे, राजेश कुमार अर्याल र कमलराज तिमिल्सीनाले राज्य तथा सरकारबाट मिडिया हाउसको विकास, पत्रकारहरुको क्षमता अभिवृद्धि, मिडिया हाउसको व्यस्थापन, प्रविधी अनुसारको पत्रकारिताका लागि बजेट विनियोजन गरी बन्द हुन लागेका मिडया हाउसहरुलाई बचाउनु पर्नेमा जोड दिए । 
पछिल्लो समयमा खोजीमुलक पत्रकारिता हराउँदै गएको, भजनमुखी पत्रकारिता  बढेको, पत्रकार आचार संहिता पालना नभएको, जनचाहाना अनुसारको समाचार सामाग्रीहरु प्रकाशन तथा प्रशारण नभएको गुनासो बढेकाले पत्रकार तथा मिडियाहरुले जनचाहाना अनुसारका सामाचारमा ध्यान दिनुपर्नेमा संस्थाका सल्लाहकारहरुले जोड दिएका छन् । 

कार्यक्रममा लुम्विनी प्रदेश सञ्चार समन्वय परिषदका अध्यक्ष यम गाहा ( मिलन) ले लुम्बिनी प्रदेशको समग्र मिडिया विकास तथा व्यबस्थापनको लागि परिषद गठन भए पनि प्रदेश सरकारबाट बजेट नै नपाएको बताए । प्रदेशका मिडया हाउसको विकासका लागि समन्वय परिषदलाई बलियो बनाउनु पर्ने, आवश्यक बजेटको लागि सबै पत्रकार तथा मिडिया हाउसहरुले आवाज उठाउनु पर्ने अध्यक्ष गाहाले जोड दिए । 

कार्यक्रममा नव जनचेतना दैनिकका  प्रकाशक तथा सम्पादक  जगदीश भट्टराईले आर्थिक संकटका कारण जिल्लाका अधिकाश प्रिन्ट, रेडियो टेलिभजनको अवस्था दयनिय भएको  बताए । उनले  भने ‘केही मिडिया हाउस बन्द भए, केही बन्द हुने चरणमा छन्, मिडिया हाउस बाचे मात्र पत्रकार बाच्ने भएकाले मिडिया हाउस बचाउन पत्रकार महासंघको अगुवाईमा नितिगत छलफल तथा पहल गरिनुपर्छ । ’कार्यक्रममा प्रेस युनियनका सभापति मन गहिरे, प्रेस चौतारीका अध्यक्ष कृष्ण कार्कीले पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्था भएकाले  जिल्लाका सबै पत्रकार तथा मिडिया हाउसहरुको हितमा रही काम गर्न सुझाव दिए ।

 कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य देव पचभैया, निवर्तमान सचिव किरण कौशल, प्रेस चौतारीका सचिव नारायण न्यौपाने, प्रेस युनियनका सचिव विष्णु घिमिरे, महासंघ कार्यसमिति सदस्य विजय बौडेल लगायतले सबैको सहयोगबाट नै महासंघलाई राम्रो र सक्रिय बनाउन सकिनेमा जोड दिए । सबैले सबैको अस्तित्व स्विकार्य गरे मात्र संस्थालाई माथि उठाउन सकिनेमा पत्रकारहरुले जोड दिए । कार्यक्रममा महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष गोविन्द भट्टराईले पत्रकारीताको हिजो, आज र भोलीको अवस्था, चुनौती तथा प्रविधीको बारेमा छलफल पत्र प्रस्तुत गरेका थिए । महासंघका अध्यक्ष रेखीराम रानाले छलफलमा उठेका विषयबस्तुहरु आगामी कार्यसमितिको बैठमा पेस गरी छलफल गरि कार्यान्वयनमा लैजाने बताए । अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत, सचिव यज्ञमुर्ति तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update