Shittalpati
गुुल्मीमा नमूना ‘संसद्’

गुल्मी, रोस्टममा सभामुख, उपसभामुख, छेउमै संसद् सचिवालयका महासचिव । अगाडिपट्टि बेञ्चमा छुट्टाछुट्टै सत्तारूढ, प्रतिपक्ष सांसद, प्रधानमन्त्री सचेतक र छेउमै मन्त्री बसेका छन् । दर्शकदीर्घा कक्षमा शिक्षक, विद्यार्थी र खचाखच अभिभावक थिए । झट्ट हेर्दा गुल्मीको तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा संसद् भवन बानेश्वरको जस्तै माहोल देखिन्थ्यो । ‘नमुना संसद् सभा’को अभ्यास बैठकमा सांसददेखि सभामुख, उपसभामुख, मन्त्रीका सबै भूमिकामा भने कानुन संकायमा अध्ययनरत विद्यार्थी सक्रिय थिए ।

सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गरेपछि क्रमैसँग सांसदले आ–आफ्नो क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गराए । सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल–जवाफ चल्यो । एक मिनेट निर्धारण गरिएको शून्य समयमा ७ जना सांसदले बोले । त्यसपछि विशेष समयको कार्यक्रम सुरु भयो । ३ मिनेटको समय छुट्याइएको थियो । विद्यार्थी सांसद्हरुले आफ्नो धारणा राखे । त्यहाँ बोल्ने विद्यार्थी सांसदले संसदमा शिक्षा, स्वास्थ्य र पूर्वाधारका मुद्दालाई प्राथमिकतामा राखे । उनीहरुले अझै पनि जनताका प्रमुख आवश्यकताहरू शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, सडक लगायतका विकासमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको, समाजमा पुरातनवादी सोच कायमै रहेको टिप्पणी गरे ।

पाठ्यक्रम परिवर्तन नभएको, शैक्षिक संस्थामा बेथिति मौलाएको, सरकारले सार्वजनिक र निजी शिक्षण संस्थाको भरपर्दो अनुगमन गर्न नसकेको, जुम्लाको स्याउले बजार नपाएको पनि उनीहरुले औंल्याए । सत्ता पक्षका प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले सरकारका कामको रक्षात्मक जवाफ पेस गरे भने प्रतिपक्षका सांसदहरूले सरकारको कामकारबाहीको कडा आलोचना गरे । देख्दा संघीय संसद्को झल्को आउँथ्यो । विद्यार्थीले प्रस्तुत गरेको नमुना युवा संसद्को अभ्यास देख्नेहरू पनि छक्क परे । संसद्को लामो छलफल र बहसपछि शिक्षामन्त्रीद्वारा पेस भएको विद्यालय शिक्षा विधेयक बहुमतले पारित भयो । विद्यार्थीलाई नेपाली संसदीय पद्धतिको ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा उनीहरूमा वैज्ञानिक तर्क कला र नेतृत्व क्षमता विकास गराउने उद्देश्यका साथ नयाँ युवा नयाँ सोंच नेपालको सहयोगमा नेपालको संसदीय प्रणालीमा आधारित कार्यक्रम गरिएको हो । विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत कानुन संकाय र कक्षा ६ देखि १२ सम्म सामाजिक शिक्षा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक विधिबाट संसद्को नमुना अभ्यास प्रस्तुत गरेको विद्यालयका प्रध्यानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए । विद्यार्थीलाई संसद्को काम, कर्तव्य, अधिकार, संसदमा प्रस्तुत हुने विधेयक र त्यसको विधि एवं प्रक्रियाबारे जानकारी गराउँदै शिक्षा विधेयकसमेत पारित गरिएको श्रीसले बताए । संसद् चार घण्टाभन्दा बढी समय सञ्चालन भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update