दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन जो कोही चिकित्सक मान्दैनन् । अधिकांस डाक्टरहरु सुगम र सेवा सुविधा भएका क्षेत्रमा जान मरिहत्य गर्छन् तर केही त्यस्ता डाक्टरहरु पनि छन् जो आफ्नो सेवाको लक्ष्य नै दुर्गमका नागरिकहरुका लागि राख्छन् । यस्तै मध्येका एक हुन् रुकुम पश्चिम आठ बिस्कोट नगर अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.संयम चन्द्र घिमिरे । सानै उमेरदेखि नेपालका कुनाकन्दरामा पुगेर दिन, दुःखी, गरिब जनताको सेवा गर्ने इच्छा राखेका उनी अन्ततः डाक्टर बनेपछि नै दूरदराजमा बस्ने असहाय बिरामीहरूको सेवामा समर्पित छन् । चाप र तापको प्रभावका कारण कोइलाबाट हिरा बनेका डा. घिमिरे, जसले रुकुम पश्चिमलाई स्वास्थ्य क्षेत्रमा अतुललीय योगदान दिइरहेका छन् । चट्टानलाई फोरेर उम्रेको वरपिपल जस्तै उनी आमजनतालाई सहज स्वास्थ्य उपचार प्रदान गरिरहेका छन् । उनी मेहनत र परिश्रमको सहाराले कमजोर धरातल भएकाहरूले पनि जीवन दृष्टान्त रूपान्तरण गर्न सक्छन् भन्ने उदाहरण पनि हुन् । घिमिरे कमजोर र आवाज विहीनहरूले मन खोलेरै पढ्न सक्ने खुला किताबका रूपमा परिचित समेत छन् । उनै डा. घिमिरेसँग दुर्गममा सेवा दिदा भोग्नुपरेका समस्या, त्यहाँको स्वास्थ्य अवस्था लगायतका विषयमा केन्द्रीत रहेर नवजनचेतना राष्ट्रिय दैनिकका लागि महिमा गहिरेले गरेको कुराकानीको सम्पादित अंश ।
दुर्गममा बसेर जनताको सेवा गर्ने प्रेरणा कसरी आयो ?
– म तराईमा जन्मे हुर्केको मान्छे अनि पहाडी दुर्गम क्षेत्रका स्वास्थ्य सम्बन्धी समाचारहरु सुन्दा दुःख लाग्थ्यो । कहि डाक्टरको अभाव, विपन्न वर्गका व्यक्तिहरुले रिफर गरेको ठाउँ विरामीलाई तत्काल पु¥याउन नसक्दा विरामीको मृत्यु भएका घटनाहरुले मन छोयो र दुर्गममा जाने रहर जाग्यो ।
चिकित्सा शास्त्र अध्ययन कहाँबाट गर्नुभयो ?
– चितवन मेडिकल कलेजबाट अध्ययन गरेको हो । अध्ययन सकिए लगतै म यहि रुकुम पश्चिम आठ विस्कोट नगर अस्पतालमा आएको एक वर्ष पुरा भएको छ ।
अस्पतालमा आइसके पछि सम्झन लायक घटनाहरु के–के छन् ?
– मुख्य त भूकम्पले घटाएको घटना अहिले पनि मेरो मानस्पटलमा ताजै छ । त्यतिबेला धेरै जनाको अकालमै ज्यान गयो । घाइतेहरुको दर्दनाक स्थिति थियो । त्यस अघि अन्य केशहरु धेरै आए जुनमा मैले सेवा गर्ने मौका पाए ।
अस्पतालमा डाक्टर दरबन्दीको अवस्था कस्तो छ ?
– यो अस्पतालमा दरबन्दी ३ जनाको भए पनि हाल १ जना डाक्टर र हाम्रो प्यारामेडिकल टिमले काम चलाउनु परेको छ ।
अस्पतालमा के कस्तो सेवा सुविधा छ ?
– यहाँ ल्याब, एक्सरे, माइनर ओटी, प्लास्टर, भिडिओ एक्सरे लगायत सामान्य बिरामीको उपचार गरिन्छ । जटिल केश वा शल्यक्रिया गर्नु परेमा बाहिर रिफर गर्ने गरिएको छ ।
अस्पतालका के कस्ता समस्याहरु छन् ?
– पर्याप्त जनशक्ति र उपकरण सामाग्रीहरु छैनन् । सबै किसिमका पर्याप्त औषधी पनि ।
भुकम्प जाँदा घाइतेहरुको उपचारका लागि कसरी खट्नु भो ?
– मध्यरातमा जब ६.२ रेक्टर स्केलको भूकम्प जाजरकोट केन्द्रबिन्दु भएर आएको थियो । एक्कासी त्यो रात भयानक स्थिति आयो । घाइतेहरुको उपचारमा २४ घण्टा खाना पनि नखाइकन म लगायत हाम्रो टिम सेवामा खटिएका थियौं । जटिल विरामीलाई सुर्खेत पठायौं । पछि क्याम्पहरुमा गएर विरामीको उपचारमा लाग्यौं । यो कार्यमा नेपाली सेना र प्रहरीको विशेष सहयोग प्राप्त भएको थियो ।
अहिले रुकुम पश्चिम क्षेत्रमा रहेका भूकम्प प्रभावितको स्वास्थ्य अवस्था कस्तो रहेको छ ?
– भूकम्पले घर भत्किदा त्रिपाल मुनि बस्नु परेका अधिकांश भुकम्प प्रभावितहरुमा चिसोका कारण रुघाखोकी, झाडापखाला जस्ता रोगले ग्रस्त बनेका छन्, भने बच्चाहरुमा न्युमोनिया र बुढा पाकाहरुमा दमको रोग बढेको छ ।
सरकारी तवरबाट अस्पतालका लागि के गर्नुपर्ला ?
– हो, स्थानीय, प्रदेश, संघीय सरकार र सरोकारवालाहरुको यति बेला सहयोग महत्वपूर्ण छ । यस अस्पतालमा ओटी सेवा, अर्थोपेडिक सजर्र्न डाक्टर, स्त्रीरोग विशेषज्ञ र अन्य विशेषज्ञहरुको अति आवश्यक छ । साथै आधुनिक प्रविधि र उपकरणको खाँचो छ यसमा विशेष ध्यान दिइ व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
जनताले सबै किसिमका सेवा पाउन के गर्नुपर्छ ?
– यहाँ हामीले सबै प्रकारका उपचार सेवा दिन सकिरहेका छैनौ । जस्तै ःजटिल बिरामीहरुका लागि तत्काल अप्रेसन गर्नुपर्ने बिरामीलाई बाहिर पठाउनु पर्ने मुख्य समस्या हो । त्यसैले कम्तीमा अप्रेसन थियटर, सर्जन डाक्टरहरु स्त्रीरोग विशेषज्ञ अन्य विशेषज्ञहरु, अत्याधुनिक उपकरणहरु औषधी लगायत पर्याप्त हुन सके राम्रो हुने थियो र यस क्षेत्रमा भूकम्प पीडितलाई राहतका साथ साथै दीर्घकालीन सोच अनुसार पुर्ननिर्माण कार्यलाई अगाडि बढाउनु पर्ने देखिन्छ ।
दुर्गममा आएर काम गर्नु भएको छ के यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
– हो कोही विदेश जाने, कोही सुविधा सम्पन्न सहर छोड्न मान्दैनन् तर मलाई सानैदेखि नेपालकै कुनाकन्दरामा पुगेर दुःखी गरीब जनताको सेवा गर्ने इच्छा थियो । त्यो यहाँ आएर पुरा भएको छ । दुर्गमका बिरामीको सेवा गर्दा छुट्टै आनन्द आउँछ । डाक्टरको सेवा सुविधा नपाएका बिरामीहरुमा उपचार गरी सेवा दिन पाउँदा म सन्तुष्ट छु । जब बिरामी निको भएर घर फर्किन्छन् त्यति बेला खुसीको अनुभुती हुन्छ ।