नारायण तिमिल्सेना
थालीमा रातो टिका मुछेर, कापिरहेका हातले निधारमा छिट्टै फर्किएर आय भन्ने आशीर्वादसहित थरथराएका ओठ अनि नयनबाट झरेका बलिन्द्र अश्रुधारा, आजकाल धेरैका घरमा देखिएका कारुणीक र मर्मस्पर्शी दृश्य हो यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा देखिएका घाँटीका खादा अनि मालाले लाग्छ देश रित्तिदै छ, देशमै बसेर छोरा छोरीले केही गरुन् भनेर साँचेका बा आमाका सपना तुहिदै छन्, सकिदै छन् । विश्वका धेरै देशमा बगेका नेपाली युवाका रगत अनि पसिनाले कैयन देशका भूूमि विकसित हुँदै छन् तर विडम्बना जन्माएर जोगाउन नसकेको मेरो देशको अवस्था जस्ताको त्यस्तै छ । आजको युवावर्ग सामान्यभन्दा सामान्य कामको खोजीमा विदेश भौँतारिरहेको छ । यसतर्फ न राज्यले वा न अभिभावकले नै गम्भीर भएर सोचेकै देखिन्छ । प्रायः अहिलेका युवाको गन्तव्य बनेको छ, अमेरिका, अस्ट्रेलिया, जापन र कोरिया । विदेशमा पढ्न भन्दा पनि उनीहरू आफ्नो कामको ग्यारेन्टी भएमा बढी खुसी हुन्छन् । यस्तो छ, आजका नेपाली युवावर्गको विदेश पलायनको यथार्थ । यसर्थ अहिलेको परिवेश र युवा विदेश पलायनका विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
विगतको जनगणना वि.स. २०४८ देखी वि.स. २०७८ सम्मका तथ्यांकलाई विश्लेषण गर्दा अहिलेको वर्तमान समयमा नेपालमा युवाको स्वर्णिम समय हो । यो समयमा देशमा सर्वाधिक सक्रिय युवा जनशक्ती रहनु पर्छ । यो समयलाई देशले सदुपयोग गर्न नसक्ने हो भने नेपालले महत्वपूर्ण समय गुमाउछ । विकसित जनसंख्यिक तालिकाले अब जनसंख्या वृद्धिदर घट्दै जान थालेको छ । अब युवा नै देशमा नरहने हो भने आर्थिक रुपमा सक्रिय जनशक्ती कहाँ भेटिएला ? गाउँमा मर्दा पर्दा काँध थाप्ने युवा छैनन् । बिरामी भए यातायातको पहुँच भएको स्थानसम्म पुर्याउने मान्छे पाउन मुस्किल छ । जिउँदो रहँदा आश बोकेका बा आमाले लाश भएपछि स्पर्श पाउन समेत गाह्रो छ । भर्खर मात्र पूर्व सभामुख सुवास नेम्वाङको मृत्यु हुँदा छोराहरु दाग बत्ती दिन युरोप अष्ट्रेलियाबाट आउनु पर्दा दिन कुरेको उदाहरण चर्चामा रह्यो । यो ठूूला नेताहरुको र धनी परिवारको मात्र उदाहरण होइन । आजकाल गाउँघर तिरको वास्तविकता नै यही हो ।
पहिले छोरो छोरी शहरबाट आउछ भन्ने आहान अहिले छोरा छोरी विदेशबाट आउँछन् भन्नेमा परिणत भएछ । अब त मरे पछि क्रिया बस्न समेत भाडामा राख्न शुरु गरि सकेछन् । यो अवस्था सुध्रिने कहिले हो ? सके अमेरीका, युरोप, जापान, अष्ट्रेलिया नसके साउदी, कतार, दुवही, कोरीया त्यो पनि नसके कम पैसा लाग्ने नजिकका देश भारतसम्म नेपालीको गन्तव्य बनिरहेको छ । राम्रो पढे विदेश अनि पढ्न नसके पनि विदेश जसरी भए पनि जहाँ भए पनि जानै पर्छ भन्ने युवाको कमि छैन । यही अवस्था रहि रÞयो भने १६ वर्ष मुनिका र ६० वर्ष भन्दा माथिका नागरिकहरु छन् । छिटफुट रुपमा रहेका कर्मचारी र शिक्षकमात्र भेटिने होला । यही अवस्था रहि रÞयो भने देश रित्तिन धेरै बेर लाग्ने छैन । अब त नेपालमा सरकारी जागिर गरेर बस्नेले पनि आफ्नो भविष्य देख्न छाडि सके । सरकारी जागिर छाडेर जाने सख्या पनि बाक्लै छ । गाउँको बस्ति पातलो छ । गाउँ छाडि शहर, शहर छाडी विदेश अहिलेको अवस्थाले कृषि उत्पादन समेत घट्दै गएको छ । यसै पनि परम्परागत खेती प्रणालीमा आधारीत रहेर उत्पादन गरि रहँदा उत्पादन घट्ने नै भयो त्यस माथि गाउँमा बसेर खेतीपाती गर्नेहरु शहर पस्दै छन् । अलि–अलि गरेर खेती गर्दा उत्पादन जोगाउन गाह्रो छ । युवा जति विदेश पसे गाउँमा बाँदर धपाउने मान्छेको पनि अभाव हुन थाल्यो । अब युवालाई देश भित्रै राख्न सक्ने बृहत्तर योजनाको आवश्यक छ ।
सिप, क्षमता र योग्यताका आधारमा रोजगारी सिर्जना गर्नु पर्छ । भए र गरेका रोजगारीलाई इज्जतका साथ गर्ने वातावरण बनाउनु पर्छ । श्रमको सम्मान हुनुुपर्छ । काम सानो र ठूूलो हुँदैन । पेशागत दक्षता रह्यो भने जे काम गर्दा पनि हुन्छ तर काम अनुसार दाम अनि दाम समेत समय सापेक्ष परिवर्तन हुनु पर्छ । अन्य देशमा गएका युवाले जे काम गर्न सकिन्छ त्यही गर्छन् तर नेपालमै बसेर गर्ने वातावरण भने देख्दैनन् । काम गर भनेर मात्रै हुँदैन काम गर्ने वातावरणको व्यवस्था हुनु पर्छ । नेपालले पनि विश्वका अन्य विकसित देशमा जस्तै समय सापेक्ष व्यवस्था हुनु पर्छ र परिवर्तन पनि हुनु पर्छ । अहिलेको समयमा कलाकार पलायन, खेलाडी पलायन, चिकित्सक अनि स्वास्थ्यकर्मी पलायन, विद्यार्थी पलायन, दक्ष अनि अदक्ष कामदार पलायन यसरी सबै पलायन भई रहँदा को टिक्ने हो यो देशमा बुढा भएका बा आमा र काम गर्न नसक्ने बाल बच्चा ? देशले न त दक्ष जनशक्ती राख्न सकेको छ न त काम गर्ने अदक्ष कामदार । राख्न सकिने व्यवस्था कसले गर्न पर्ने हो ? व्यवस्थापन कहाँ बाट शुरु गरिनु पर्छ गम्भिर भएर सोंच्नु पर्छ र काम पनि गर्नु पर्छ । को कहाँबाट सच्चिनु पर्छ र के सक्किनु पर्छ अनि के मा लगानी गर्नु पर्छ त्यसको पनि लेखाजोखा हुनु पर्छ । युवाले देश प्रति आशा अनि भरोसा के मा गर्छन् त्यसको खोजविन हुनु पर्छ र त्यसको व्यवस्था हुनु पर्छ । काम गर्छु भनेर तयार हुने युवालाई सिप योग्यता क्षमता अनुसार काम दिनु सक्नु पर्छ । लगानी गरेर व्यवसाय गर्छु, राज्यलाई कर तिर्छु भनेर तयार भएका युवा जमातलाई लगानी मैत्री वातावरणको अवस्था सिर्जना हुनु पर्छ । कृषि गर्छु भनेर अगाडि सर्नेलाई व्यवसायीक कृषि गर्ने माहोल सिर्जना गरिनु पर्छ । कृषि अनि पशुपालनमा व्यवसायिकरण, यान्त्रीकरण अनि विविधिकरण गर्नु पर्छ । उत्पादनको बजारीकरण गरिनु पर्छ अनि बाली तथा श्रमको बिमा गरिनु पर्छ । फिनि हरायर गहुँका दाना गन्नु भने जस्तै युवा जति विदेश पठाएर रेमिटेन्सले देश बन्छ भन्नु पनि उस्तै उस्तै हो । सुन खोज्दा हिरा गुमेको थाहा नपाउन सकिन्छ । अहिलेको अवस्था पनि त्यस्तै हो । कस्तुरी मृगले आफुु भित्रको सुगन्ध चिन्न नसके जस्तै देशले युवा चिन्न सकेन । पछिल्लो तथ्यांकले लाखौं युवा महिनामै देशबाट बहिर्गमन हुनुले यसको प्रमाण दिइ रहेको छ ।
आर्थिक विकासका सबै सुचकांकमा देशले युवा मागि रहेको कस्ले बुझ्ने । युवाहरुकै मर्म कस्ले जान्ने । अथाह सम्भावना यसै निष्किय बनिरहँदा सुधार गर्ने हिम्मत कसलाई होला ? बोलीमा दम र काममा कम पहिले नि थियो अहिले नि उस्तै छ । सुधार कहिले होला ? सबैलाई आफ्नो जिम्मेवारीको बोध होला कि नहोला कि सबै सक्रिय पछि मात्र सोंच्ने हो ? बाहिर गएका युवा केही देशका मात्र फर्किने हुन सबै देशका नफर्किने कुरामा दुईमत नहोला । मेरो पनि फरक मत छैन् । अतः युवा देशमा रहेनन् भने विकास सम्भव छैन । दुखेको बा आमाको मन खुशी गराउन पैसाले मात्र सम्भव छैन् । जन्माएका छोरा छोरीसँगै रहनुको आनन्द आभाष गर्नेलाई मात्र थाहा होला । जन्मिएको ठाउँ छाडेर जाने रहरले मात्र हुँदै होइन, परेली रुझाउँदै जाने र सम्झिएर बस्नेलाई मात्र थाहा हुन्छ । मनले नजा भन्छ देशले जा भन्छ भन्ने अवस्था जसरी पनि सुधार हुनु आवश्यक छ ।
(लेखक हाल बगनासकाली गाउँपालिका पाल्पामा कार्यरत छन् ।)