गुल्मी, आर्थिक अभावमा रोगको पहिचानसमेत गर्न नपाएका असहाय गरिब विपन्न परिवारलाई लक्षित गरी गुल्मीको तम्घासमा स्वास्थ्य शिविरमार्फत निःशुल्क स्तन क्यान्सर जाँच र सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको आयोजना र डिल्लीमाया मेमोरियल ब्रेष्ट क्यान्सर फाउन्डेसनको सहकार्यमा निःशुल्क स्तन क्यान्सर जाँच र सचेतना कार्यक्रम गरिएको हो ।
आर्थिक अभाव र अज्ञानताका कारण उपचारको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुका लागि उपचार सेवाको पहुँचमा ल्याउने उद्देश्यले शिविर आयोजना गरिएको क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले शितलपाटीलाई जानकारी दिए ।
शिविरको रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुंवरले उद्घाटन गरेकी हुन् । शिविरको उद्घाटन गर्दै उपप्रमुख कुंवरले रोटरी क्लव र फाउन्डेसनले निःशुल्क शिविर सञ्चालन गरेर प्रसंशनिय कार्य गरेको बताइन् । उनले आर्थिक अभावमा रोगको पहिचान गर्न नसकेका र उपचार समेत गर्न नसकेका नागरिकका लागि शिविर महत्वपूर्ण रहेको धारणा व्यक्त गरिन् । उपप्रमुख कुंवरले सरकारले गर्नु पर्ने काम क्लव र फाउन्डेसनले गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रममा स्थानीय सरकरको समेत सहयोग रहने बताईन् ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, प्रहरी उपरीक्षक नवीन किशोर प्रधान , शार्दुल संग्राम गुल्मीका गुल्मपती अशोक कार्की , सशस्त्र प्रहरी प्रमुख सञ्जीव कार्की , अनुसन्धान प्रमुख विनय चतुर्वेदी लगायतले शिविरको अवलोकन गर्दै प्रशंसा गरे । तम्घासस्थित बालमन्दिरमा भएको एक दिने शिविरमा २ सय ५१ जनाले सेवा लिएका छन् । जसमा २ सय ४९ जना महिला र २ जना पुरूष रहेका छन् । फाउन्डेसनका संस्थापक अध्यक्ष विशेषज्ञ डाक्टर सञ्जय पाण्डेले विशेषज्ञ सेवा प्रदान गरेका थिए । शिविर उद्घाटनका उपाध्यक्ष गुणानिधि शर्माको अध्यक्षता, सचिव भागिरथ भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।