Shittalpati
विवाहमा फसाद : कुरुवालाई प्रसाद

जगन्नाथ पन्त
एका समयको एकादेशको कथा हजुरबाले सुनाउन थाल्नु भयो । नाति नातिनाहरु ध्यान पूर्वक सुन्न बसे । यस्ता दन्त्य कथाहरु  शुक्रबार नियमित जसो सुन्ने सुनाउने चलनै बसेको थियो । आजको कथा  यसरी शुरु र अन्त्य भयो : पुसको जाडो रात छिप्पिदै थियो । सुनैना आटिबाट, बुबा, आमा र दाईको कुराकानी कान थापेर चियो गरिन । अगेनामा आगो तापेर बुवा श्रीनिवास, आमा चन्द्रकला र दाइ नविनले आफ्नै विहेको कुरा गरेको सुनेर सुनैनाले कुरामा झन् चासो दिइन । सोह्र वर्ष पुगेकी बहिनीलाई नसोधी विहेको कुरा हामीले मात्रै गर्नु उचित नहोला कि ? नविनले भन्न नभ्याउदै चन्द्रकलाले थपिन मैले अस्ति नै सोधेको कोहि केटासँग प्रेम छैन रे, जसलाई  ठिक मानेर दिनु हुन्छ म स्विकार्छु भनेकि छन् । दश कक्षा पढेकी, रूपवान, सीलवान र गुणवान छन्  सुनैना । बुबा, आमा र दाइका साथीहरू घरमा आउँदा सबैको प्रसंशा पाउथिन् । यिनलाई भाग्यमानी केटा पर्छ, गाउँलेले फुर्काउदै प्रसंशा गर्थे । हुन पनि सुनैनासँग विहे गर्न धेरै केटाहरु लालायित थिए । केही बेरको छलफल पछि तिनै जनाले दुलाह केटा खोज्ने सहमति गरी आ–आफ्नो सिरक भित्र पसे ।

माघको पहिलो शनिबार घरमा सत्यनारायणको पूजा लगाउँदा प्रसाद खान श्रीनिवासले पहिले आफुले काम गरेको नाम चलेको विद्ययालयको विज्ञान पढाउने शिक्षक, चन्द्रकलाले साथीको बहिनीको छोरा  भर्खर पल्टनबाट पहिलो छुट्टिमा आएको लाहुरे र नविनले आफुसंगै अफिसमा काम गर्ने लेखापाललाई पनि निम्ता गरे । निम्तालुहरु फरक–फरक समयमा आ–आफ्नो फुर्सद् अनुकूल आए प्रसाद खाए फर्के । तिनै जनाको उद्देश्य सुनैनालाई देखाउनु थियो । आ–आफुले बोलाएका केटालाई सुनैनासँग चिनजान गराए ।  निम्तालु धेरै भएकाले केटाहरुलाई न बाबुले श्रीमती र छोरालाई, न आमाले श्रीमान र छोरालाई, न छोराले बाबु आमालाई सम्भावित दुलाह केटाको रुपमा चिनाए । मात्र फलाना मैले निम्ता गरेको भनी सामान्य परिचय गराए । तर बोलाउनुको कारण बुझे होलान् भनेर मनमनमा सोचे । केही दिनमा मैले चिनाएको निम्तालु कस्तो लाग्यो भनेर अलग–अलग सोधे । हजुरलाई राम्रो लागेर त निम्ता गर्नु भएको होला सुनैनाले यत्ति मात्र भनिन् ।

पूजा सकिएको केहि दिन पछि तिनैजनाले आ–आफ्नो हिसावले आफुले मन पराएको केटासँग सुनैनाको विहेको कुरा गरे । संयोग तिनै जना केटा खुसीका साथ राजी भए । शनिबारको विदाको दिन नविन पनि सदरमुकामको अफिसबाट घरमा आएका थिए । खाना खाई बाबु, आमा र छोरा आगनमा  घाम ताप्दै सुनैनाको विहेको कुरा झिके । केटा कस्तो लाग्यो भनेर एकापसमा चर्चा पनि गरेकै हुन् । सुनैनाले पनि मन पराएकी छन् । सोधेकै हुँ भने । हो त हो तिनै जनाले मैले भनेकै केटा हो भन्ने बुझे । बेलुकीको खानापिना पछि चारै जनासँगै  अगेनामा आगो  ताप्न बसे । सुनैना तिम्रो विहे गर्ने निधो गरौ श्रीनिवासले कुरा झिके । केटा राम्रो छन्, पछि टन्न पेन्सन आउछ भनेर चन्द्रकलाले थपिन । नविनले पनि केटा असल छन्, मेहनती छन् भनेर थपे । पहिले दाईको विहे गर्नु सुनैना लजाउदै उठेर आटितिर भरेङ चढिन । बुुबाले कुरा शुरु गरेकाले बुुबाले भनेकै केटा होलान भन्ने बुझिन सुनैनाले । नाम चलेको शिक्षक, एमएस्सी गरेको घरमा पनि पुर्खखौली सम्पत्ति राम्रै भएको । लाहुरे र लेखापाल भनेर चिनाएको भन्दा बुद्धिमान र अनुहार पनि सुन्दर देखेकी थिइन सुनैनाले । चन्द्रकलाले हजुलाई केटा राम्रै लागेको छ नि भनेर सोधिन अनि नविन तिमिलाई नि कस्तो लाग्यो । दुबैले राम्रो लागेकाले कुरा अगाडि बढाऊ भनेर त सल्लाह गरेको हो नि भने । तिनै जनाको सहमति भयो तर बुझाई आ–आफ्नै रोजाइको । 

टिकाटालो गर्न निधो भएको  अघिल्लो दिन श्रीनिवासका ठाइला बा बिते । जुठा परो, १३ दिन बार्न पर्ने । उम्कदा  अन्तिम लगन मात्र भेट्ने भो । फागुनमा लगन छैनन् । विहेको तयारी गर्न तिन दिन मात्र मिल्ने भो । जुठामा सर्जम तयार गर्न शुभ नहुने । टिका टाला नगरी  विहेको दिन तय भयो । श्रीनिवासको जिम्मा  दुलहा र संधिलाई दिने सुनको औंठी बनाउन, दाजु भाइ जम्मा गर्न, जग्गे बनाउने । चन्द्रकलाले घिउ, तेल, मण्डपको सामान । अन्य बन्दोवस्ति नविनको भयो । दिउँसोको विहे, ११ बजे तिर  तिनवटा जन्ति बाजा घन्काउदै आए । दुलाह पनि तिन वटा फसाद पर्यो । दाजु भाइको मतो बस्यो । दोष केलाएर भएन, फसाद  कसरी निम्टयाउने , अलमल भो विजेत हुने भो । उता जन्तिहरुमा पनि अलमल । झगडा पर्ला जस्तो भयो । सुनैनासँग म नै विहे गर्ने हो भनेर तिन जनै केटाले अड्डि लिए । यता श्रीनिवास भन्छन्  हेडसर भनेर मेरो कत्रो इज्जत, मैले भनेपछि अरु हुन्न ।  माईति र सगिलाई म कसरी मुख देखाउने,  विटिस पल्टनको लाहुरे कमाउने केटो सुखले पाल्छ  भनेर अलाप गर्छिन् चन्द्रकला । म त जागिरमा नगए पनि भयो,  हाकिम भनेर जिल्लामा सबैले चिन्छन् नविनले  विलाप गरे । हे प्रभु  ! तिन जनाले  तिन जना छान्दा  फसाद भयो । ठाइला बा नवितेका भए टिकाटालो हुन्थ्यो । यतिविधि फसाद त हुन्थेन नि  वितेका ठाइला बा नि दोषि भए । यता सुनैना इन्तु न चिन्तु भइन, गरेको श्रृङगार गह्रुङो भयो, सास फेर्न गाह्रो भयो, मुटुको धडकन रोकिएला जस्तो भयो । जाडोमा पनि उष्ण गर्मि भयो, शरिरबाट पसिनाका भल बगे । भनन्न भाउन्न भो । फुर्साआखा पल्टाउदै गर्लम्म भुइमा पछारिइन । जग्गेको केराको थाम पनि ढल्यो । सुनैनालाई मैरी (मठ) मा  शिर पर्ने गरि नयाँ गुन्द्रिमा सुताए । पसिना पुछि दिए । पानी छम्के तर सुनैनाले आखा खोलिनन् । नाडि बन्द भयो । प्राण पखेरुले शरिर छोड्यो । हे दैव ! एउटा छोरीको जल खान र कन्यादान गर्न पनि पाइन भन्दै चन्द्रकला मुर्छा परिन । सुनैनाका  सगिनीहरु सबै रुन थाले । श्रीनिवास कालो ठूटो जस्तै भए । नविन बहिनीको गोडा समाएर घोप्टो परे । वाजा बज्न रोकिए । दिउँसै रात परे जस्तै अध्यारो भयो । तिनजनै बेहुला र जन्ति टिका माला फालेर आगनमा आए ।

जन्ति  मलामीमा परिणत भए ।  घाटमा श्रद्धाञ्जली पछि एउटा बेहुला बहुला जस्तो भयो । जवरजस्ती चितामासँगै जल्यो । अर्को जोगि बन्छु भनेर हिड्यो । अर्कोले  खरानी कुरेर समाधि लियो । जोगि बेनेको केटा माग्दै हिड्दै गर्दा  कति पटक भोकै रह्यो । कति रात चिसोमा कठांग्रीयो । जन्ति लिएर बेहुला बनेको केटा दुलहि नलिई घर जान नपाइने । बरु अन्तै वरणी गर्नु पर्ने पछुतायो । एक रात भगवानको मन्दिरमा बसेर अलाप विलाप गरिरह्यो । धेरै दिन पछि भगवानलाई दया आयो उसप्रति । किन विलाप  गरेको, के माग छ ?  भन भगवानको वाणी सुनेर बिहेको सबै घटना सुनायो । अनि आफुलाई पनि भगवान बनाइदिन वर माग्यो  भगवान बन्ने हो भने  बोल्न, चल्न पाइदैन नि । कति आउछन् ढोग्छन्, अनेक मिल्ने नमिल्ने माग्छन्, बोल्न पाइदैन । शर्त स्विकार गर्यो । भगवानले आफ्नो मूर्तिमा उसलाई राखेर  आफु बैकुण्ठ लोक जानु भयो । अर्को दिन एकजना कर्मचारी जो  सबै नेतासँग मिलोमतो गर्न सीपालु थियो । प्रसस्त कालो धन सगालेको थियो । मन्दिरमा आयो र भगवान अब राजदुत नियुक्ति पाउ भनेर दाम चढायो । दाम झिक्दा बीस हजार सहितको पर्स खसाल्यो । मन्दिरमा माग्न बसेको भिकारीले पर्स टिप्यो र अलि पर गएर  बस्यो । एकछछिन पछि  एउटा व्यापारी मन्दिरमा पुगेर भगवन  ! समुन्द्रपार व्यापारमा एक महिनाको लागि जादैछु ,मेरो यात्रा सफल बनाइदिनु भनेर द्रव्यादि चढायो । एकै छिनमा पहिलेको  कर्मचारी  रकम चोरी भयो भन्दै पुलिस लिएर फेरि मन्दिर पुग्यो । पक्कै व्यापारिले नै चोरेको हो भन्ने भयो । पुलिसले व्यारीलाई हतकडि लगाएर लैजान लागे । यो सबैदेखि रहेको जोगिबाट भगवान बनेकोलाई असैह्य भयो । भगवान बनेर अन्याय  भएको टुलुटुलु हेर्न मनले मानेन । ए पुलिस भाई यसले चोरेको होइन, उ उता बसेको भिकारीले पैसा लगेको छ, उसले पनि चोरेको त होइन, भेटाएर लगेको हो । भिकारीको खानतलासी गर्दा रकम भेटियो । व्यापारी छुट्यो । भगवान बनेको  जोगि  केटो राम्रो गरे भनेर मख्ख पर्यो ।

एकै छिनमा  बैकुण्ठबाट भगवान आएर  भन्नु भो, तिमिलाई नबोल्नु भनेको बोल्यौ । हेर त्यो कर्मचारीले  गलत गरेर कमाएको त्यति पैसा हराएर उसलाई केहि नोक्सान थिएन । त्यो भिकारीको जीवन सहज हुन्थ्यो । फेरी  समुन्द्रपार जान लागेको व्यापारीले बुकिङ् गरेको जहाज दुर्घटना हुँदैछ, केहि दिन पुलिसले थुनेको भए यात्रा स्थगित हुन्थ्यो र उ पनि बाच्ने थियो । तिमिले कार्यभारको दुरुपयोग गरिउ । पुनर जोगि भव: । केटा फेरि जोगि भयो । फेरि विलाप गर्न लाग्यो, भगवान ! नबिहे गर्न  पाए, नभगवान नै रहे, सुनैनालाई जीवित गराइ दिनु म बिहे गर्छु । जीवित गराइ दिन्छु तर बिहे तिमीसँग हुने नहुने तिम्रो कर्म  म बदल्न सक्दिन । एउटा मरि सक्यो, अर्को घाटमा समाधि बसेको घाटे राक्षसले खाए होलान । मै सँग विवाह हुन्छ मनमनै गम्यो । एक पटक मात्र काम दिने गरी मरेको व्यक्ति जीवित गराउन मिल्ने जल मन्त्रेर दिन्छु । लगेर सुनैना जलेको चिताको खरानीमा छर्क भनेर भगवानले जल दिनु भयो । घाटमा पुगेर  जल छर्कियो । सुनैना र चितामा सति गएको केटा  झन राम्रा भएर निस्के । अब त्यहाँ तिनवटा बेहुला सुनैनासँंग विहे गर्न हानथाप गर्न थाले । विवाद बढ्दै गयो । टसकोमस कोहि भएनन् ।  म त सुनैनाको लागि ज्यान दिएको सुनैना मेरि हुन । मैले जोगि बनेर यीनलाई पुनजीवित बनाए सुनैना मेरि हुन । म यतिका दिन घाटमा समाधि बसेर सुनैनालाई कुरेर बसे सुनैना मेरि हुन । यत्तिकैमा मलामीको एउटा हुल लास बोकेर पुगे । के को विवाद हो भनेर सबै वृतान्त बुझे । सुनैना कस्को हुने भनेर निर्णय दिन मलामीले छलफल गरे । धेरै वेर पछि मलामी मध्येका एकजनाले निर्णय सुनाए । जो केटा चिताबाट सुनैना सँगै पुनजन्म्यौ तिमी त जुम्ल्याह भाइ बहिनी भयौ, विहे गर्न मिलेन । जसले मन्त्र जलले  पुन जीवित गरायौ, तिमी जन्मदाता वाबु  भयौं, छोरी भइन सुनैना । जसले घाट कुरेर  बसेऊ, सुनैनासँग तिमि विहे गर । मलामीको तर्कमा चारैजना सहमत भए । चारैजना श्रीनिवासको  घर गए । बावु आमा, दाईको शोक खुसीमा बदलियो । गाउँले पनि खुसी भए । धुमधामले बिह भयो । आजकल श्रीनिवास समन्वयको महत्वमा प्रवचन  दिने विज्ञ  कहलिएका छन् । यस कथाको सन्देश भोलि भन्छु  है भन्दै हजुरबाले कथा सक्नु भयो । गुडनाईट हजुरबा भन्दै नाति नातिनाहरु सुत्ने कोठातिर लागे ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update