Shittalpati
प्रहरी महानिरीक्षक कुंवरद्वारा प्रहरी कार्यालय पाल्पामा नवनिर्मित भवन उद्घाटन

पाल्पा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कार्यालय  पाल्पामा नवनिर्मित कार्यालय भवनहरूको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर, हिरासत र मेश भवनहरूको उद्घाटन गरेका हुन् । साथै उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् ।

उनले भवन उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी संगठनलाई संस्थागत रुपमा मजबुत र सक्षम  बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध रहेको बताएका छन् । महानिरीक्षक कुँवरले भने ‘आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन हामी सदैव कटिबद्ध र प्रयासरत  छौं ।’ आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमानदारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उनले व्यक्त गरे । भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै  प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवद्र्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरे । उनले सिमित स्रोत र साधनको प्रयोग गरी शान्ति सुरक्षा प्रवाह गर्दे आएको बताए ।

महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको अभावमा देशको समृद्धि हुन नसक्ने धारणा व्यक्त गरे । उनले नागरिकमैत्री प्रहरी संगठन भएमात्रै जनविश्वास जित्न सकिने पनि उल्लेख गरे । ‘नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारबाहीहरू उत्कृष्ट हुन्छन्,’ महानिरीक्षक कुँवरले भने, ‘त्यसका लागि प्रहरी कर्मचारीको मनोबल बढाउन आवश्यक छ । प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धिमार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य हासिल गर्न हामी लागि परेका छौं ।’ उनले जनअपेक्षा अनुसार शान्ति सुरक्षा प्रवाह गर्न जिल्लाको प्रहरी संगठनलाई निर्देशन समेत दिए । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले संगठनलाई सुधार्न, थप सुदृढ एवं बलियो बनाउन सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले शान्ति सुरक्षाको हिसावले पाल्पा जिल्ला प्रदेशकै नमुना जिल्ला रहेको समेत बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरे, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा लगायतले आ–आफ्ना धारणा राखेका थिए । 

महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारी र एसईइमा उत्कृष्ट अंक ल्याइए उत्र्तिण हुने प्रहरीका सन्ततीहरुलाई पुरस्कार समेत प्रदान गरे ।

नेपाल सरकारको नियमित बजेटबाट  दुई चरणमा ठेक्का आह्वान गरी  ६ करोड ९५ लाख ५५ हजार  ४ सय ३९ रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणको काम २०७६ /१२/०६ मा सुरु भई २०८०/२/३० मा  सकिएको हो ।  कार्यालय प्रमुख निवास भवनको भुई र पहिलो तलामा ५ वटा कोठा रहेका छन् । ३ तले ब्यारेक भवनमा १२ वटा कोठा छन् । यसै गरी २ र आधा तले भान्सा घरमा ७ वटा कोठा छन् भने, शौचालय भवनमा १० वटा कोठा रहेका छन् । २ र आधा तले सिनियर प्रहरी अधिकृत निवास भवनमा १० वटा कोठा, महिला तथा पुरुषका लागि छुट्टछुट्टै हिरासत कक्षमा ८ वटा कोठाहरु रहेका छन् ।  कार्यक्रममा प्रहरी नायब उपरीक्षक ई. रोसन सारुले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्बर शर्माको स्वागत, डिएसपी सुगन्ध श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्र भलादमी, पत्रकार एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।


 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update