Shittalpati
ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्री

रामपुर (पाल्पा), संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय कमजोर छन् भन्ने आम नागरिकको बुझाइ छ । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन संस्थागत विद्यालयमा नै पढाउनुपर्छ भन्ने धारणा यतिबेला सामुदायिक विद्यालयले मेटाइदिएको छ । समयानुकूल प्रविधिको प्रयोगमा सामुदायिक विद्यालयले जोड दिन थालेपछि विद्यार्थीको संख्या बढ्दो छ । सामुदायिक विद्यालयले प्रविधिमा विद्यार्थीलाई अब्बल बनाउन सुबिधा सम्पन्न प्रयोगशाला तयार पारेर कम्प्युटर शिक्षालाई व्यवस्थित बनाउँदै लगेका छन् ।

शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला तयार पारेर साना र ठुला कक्षाका विद्यार्थीलाई फरक–फरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था गराइएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । “तल्ला र माथिल्ला कक्षाका विद्यार्थीलाई छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्था गरिएको छ, विषय शिक्षकले पाठअनुसार सम्बन्धित विषयवस्तुको बारेमा प्रयोगशालामा विद्यार्थी लगेर शिक्षण कार्य गराउनुहुन्छ, कम्प्युटर सिक्ने भनेपछि विद्यार्थी धेरै उत्सुक हुने गर्दछन्”, उनले भने । 

धेरै समय अघिदेखि नै यस विद्यालयमा कम्प्युटर कक्षा हुने गरेको थियो भने दुईवर्षदेखि व्यवस्थित रुपमा कम्प्युटर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यहाँको कम्प्युटर प्रयोगशाला नमुना खालको छ । कम्प्युटर प्रयोगशालालाई व्यवस्थित बनाएपछि विभिन्न स्थानबाट अवलोकन गर्न आउने क्रम बढ्दै गएको छ । कक्षा ६ देखि माथिका विद्यार्थीलाई एकै कोठामा ३० कम्प्युटरको व्यवस्था छ । साना कक्षामा अध्ययनरत विद्यार्थीका लागि छुट्टै कोठामा १५ कम्प्युटर सिकाइका लागि व्यवस्था गरिएको छ । इभेण्ट परियोजनाको सहयोगमा रु ३२ लाख बराबरको लागतमा व्यवस्थित कम्प्युटर प्रयोगशाला प्रयोगमा ल्याइएको प्रअ लम्सालले बताए । कम्प्युटर शिक्षालाई व्यवस्थित बनाउन थालेपछि शिक्षण कार्यमा विद्यार्थीको रुचि बढेको गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले बताए । यस विद्यालयमा एकै पटकमा २० जना विद्यार्थीले बसेर कम्प्युटर सिक्ने व्यवस्था छ । कम्प्युटरका अलवा शिक्षण कार्यसँग सम्बन्धित अन्य प्रविधि, पुस्तकालय, शैक्षिक सामग्री लगायतको प्रयाप्त सुविधा विद्यालयले दिइरहेको छ । यहाँका सामुदायिक विद्यालय प्रविधिको प्रयोगमा संस्थागत विद्यालयको तुलनामा अग्रपङ्क्तिमा रहेको रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । तल्ला कक्षादेखि नै विद्यार्थीलाई कम्प्युटर सम्बन्धी सिकाइमा जोड, अतिरिक्त क्रियाकलाप, आधुनिक शैक्षिक सामग्री लगायतमा सामुदायिक विद्यालयको अग्रसरता रहेको उनको भनाइ छ ।

सामुदायिक विद्यालय भनेपछि पढाइ राम्रो हुँदैन भन्ने नकारात्मक दृष्टिकोण अहिले अभिभावकमा हट्दै गएको पाइएको छ । निजी विद्यालयमा सरह नै प्रयाप्त शैक्षिक सामग्री, प्रविधिमैत्री शिक्षा दिन थालेपछि अभिभावकको सामुदायिक विद्यालय रोजाइमा परेका छन् । यहाँका रामतुलसी, गंगा, दरैठाँटी, जनविकास लगायतका विद्यालय मावि तहमा शैक्षिक क्षेत्रमा अब्बल मानिन्छन् । यी विद्यालयको अनुशरण गर्दै अन्य विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा सुधार गर्दै गएका छन् । विद्यालयमा नै व्यवस्थित कम्प्युटर सिक्ने सुविधा भएपछि बाहिर इन्सिच्युटमा आधारभूत सिकाइका लागि जानु परेको छैन । विद्यालयले समयानुकुल प्रविधियुक्त शिक्षा प्रदान गर्न छुट्टै कम्प्युटर शिक्षकको व्यवस्था गरी पठनपाठनको व्यवस्था मिलाएको छ । समय समयमा सिकाईस्तर वृद्धि गर्न शिक्षकलाई विभिन्न तालिम, गोष्ठीको आयोजना, शैक्षिक गुणस्तर उकास्न अभिभावक, सरोकारवालासँग सुझाव संकलनको कार्य भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update