Shittalpati
फैसला कार्यान्वयनमा पाल्पा प्रहरीको सक्रियता

पाल्पा, जिल्ला अदालत पाल्पाले गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ । घटना लगत्तै र अदालतको फैसला पछि फरार रहेका कसुरदारलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको हो । पाल्पा प्रहरीले ६ महिनाको अवधिमा २३ फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा जिल्ला अदालतले फैसला सुनाएका फरार अभियुक्तको पक्राउमा प्रहरी प्रमुख हेरम्ब शर्माको सक्रियतापछि उपलब्धि हासिल भएको हो ।

जिल्ला अदालतको तहसिल शाखाको विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा २३ जनालाई कैद जरिवाना गरिएको रेकर्ड छ । विगतका आवहरूमा भन्दा यस वर्ष धेरै फरार अभियुक्तहरू पक्राउ परेको तहसिलदार भेषराज खनालले बताए । प्रहरीले चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस २३ गतेसम्म विभिन्न मुद्दाका २३ जना पक्राउ गरी १ लाख ५३ हजार ४ सय जरिवानासमेत असुल गरेको छ । अदालतको फैसलाअनुसार पक्राउ परेका सबैले २ वर्ष ८ महिना ६ दिन कैद सजाए भोग्नुपर्ने छ । विशेषगरी बहुविवाह, चोरी, चेक अनादर, अभद्र व्यवहार, बाल यौन दुरुपयोग, सवारी ज्यान, लागुऔषध, गाली बेइज्यती, नागरिकता, हातहतियार तथा खरखजना, केही सार्वजनिक अपराध मुद्दाका प्रतिवादी पक्राउ परेको तहसिलदार खनालले बताए । जिल्लामा प्रहरी प्रमुख आए पनि विभिन्न भनसुन, नेताहरूको पहुँचका कारण फरार अभियुक्त हुन भन्ने थाहा पाए पनि थाहा नपाएझैँ हुने गरेको थियो । प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा जम्मा ९ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । जसमा भ्रष्टाचार, अभद्र व्यवहार, सवारी ज्यान, चोरी, बहुविवाह, बन जस्ता मुद्दा रहेका छन् । अभियुक्त पक्राउ परेसँगै ४  वर्ष २ महिना १२ दिन कैद भुक्तान कार्यान्वयनमा आएको छ । जहाँ २५ हजार जरिवाना असुली भएको छ । 

प्रहरी प्रमुखलाई सम्मान र प्रशंसापत्र प्रदान
जिल्ला अदालत पाल्पाले प्रहरी उपरीक्षक हेरम्ब शर्मालाई सम्मान गरेको छ । अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै अदालतले एसपी शर्मालाई सम्मान गरेको हो । जिल्ला न्यायाधीश कमलराज विष्टले जिल्ला बाल न्याय समितिको बैठकमा शर्मालाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

फैसला कार्यान्वयमा उच्चस्तरको कार्सम्पादन गरेकोमा सो कार्यको उच्च कदर गर्दै प्रहरीलाई सम्मान गरिएको न्यायाधीश विष्टले बताए । अदालतको वार्षिक कार्यान्वयन योजना बमोजिम निर्धारित लक्ष्य अन्तर्गत फैसला कार्यान्वयन गर्न प्रहरी प्रमुख शर्माको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाले उल्लेखनिय भूमिका निर्वाह गरेकोमा प्रहरी संगठनलाई न्यायाधीश विष्टले आभार व्यक्त गर्दै धन्यवाद समेत दिए । प्रहरी प्रमुख शर्माले फरार व्यक्तिहरूको कैद, जरिवाना र सरकारी बिगो असुलउपर गर्ने कार्यमा आफुहरुले उच्चतम सफलता प्राप्त गरेकोमा उच्च मूल्याङ्कन गरी सम्मान गरेकोमा जिल्ला अदालतप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उनले सिमित साधन, स्रोत र जनशक्तिका बिच पनि आफु अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको बताए । अदालतको फैसला कार्यान्वयन नहुँदा पाल्पामा विभिन्न मुद्दाबाट असुल गरेर राजस्व जम्मा गर्नुपर्ने दण्ड जरिवानाको ठूलो रकम बक्यौताका रूपमा रहँदै आएको छ । अदालतले फैसला गर्दै दण्ड जरिवाना तोक्ने तर अभियुक्त पक्राउ नपर्दा असुल हुन नसकी बक्यौता बढेको हो । यसले राजस्व जम्मा हुन सकेन भने दण्डित व्यक्तिले छुट पाइरहँदा समाजमा न्यायप्रतिको विश्वास घट्ने गर्दछ । पुराना मुद्दाका ठेगाना अस्पष्ट, परिवर्तन भइसकेको, व्यक्तिको परिचयात्मक विवरण पूर्ण नभएको, कतिपयको मृत्यु भइसकेको तर अदालतलाई जानकारी नभएको, त्यस्तो जानकारी अदालतमा आउने संयन्त्र नभएको र कतिपय विदेसिएकाले फैसला कार्यान्वयनमा समस्या रहेको श्रेस्तेदार शिवबहादुर थापाले बताए । उनले प्रहरीको सक्रियतामा पछिल्लो समय फैसला कार्यान्वयनको गति बढेको जानकारी दिए ।  बाल न्याय समितिको बैठकका अवसरमा न्यायाधीस विष्टले भर्खरै सरुवा भई पाल्पा आएका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई स्वागत समेत गरेका छन् । बैंठकमा बाल न्याय समितिलाई थप सक्रिय बनाउने र बालबालिका इजलास समेत बनाउन पहल गर्ने बताइएको छ । बैंठकमा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीको समेत सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update