Shittalpati
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल

पाल्पा, युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताएका छन् । बुधबार युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निर्देशक आचार्यले अस्पतालसँग भएका सम्झौता कार्यान्वयन गरे आफुहरु बिमा सञ्चालन गर्न इच्छुक रहेको बताएका हुन् ।

युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टद्वारा सञ्चालित मिसन अस्पतालले दिर्दै आएको स्वास्थ्य बिमा सेवा बन्द भए पछि धेरै नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित रहेको व्यापक गुनासो आए पनि सम्झौता अनुसार काम नहुँदा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको बताउँदै उनले आफुहरुसँग गरेको  सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्ने धारणा व्यक्त गरे । निर्देशक आचार्यले भने ‘हामी बिमा बन्द गर्ने पक्षमा छैनौं, तर सम्झौता अनुसार भुक्तानी नभएपछि अस्पताल चलाउनै धौं धौं भएपछि बन्द गरेका हौं, सम्झौता कार्यान्वयन भए हामी छिट्टै लागु गर्ने सोंचमा छौं ।’

बिमा सरकारको प्रथामिकतामा परेको विषय भएको  उनले बताए । निर्देशक आचार्यले भने‘बिमाले स्वास्थ सेवालाई सुनिश्चित गर्दछ, तर यसको व्यवस्थापन फितलो हुँदा कहि कतै समस्या आएको हो ।’ सरकारले रेटमा संसोधन गरेमा बिमा सञ्चालन गर्ने पक्षमा अस्पताल रहेको उनले दोहोयाए । स्वास्थ्य बीमा बोर्डले  नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरु अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम हुँदा अस्पताल सञ्चालनमा समस्या आएको भन्दै अस्पतालले गत साउन २१ गतेदेखि बिमा उपचारको सेवा स्थगित गरेको थियो । यहाँ सेवा बन्द भएपछि अस्पताललाई लागु गर्न जिल्लाका सरोकारवालाहरुले समेत आग्रह गर्दै आएका छन् । साधारण सभाका अवसरमा समेत सरोकारवालाहरुले स्वास्थ्य बिमा लागु गर्ने विषयमा चासो देखाएपछि ट्रष्टका अस्पताल सेवा निर्देशक आचार्यले अस्पतालको तर्फबाट धारणा राख्दै सो कुरा बताएका हुन् । उनले अस्पताल जर्नल अस्पताल रहे पनि विशेषज्ञ सेवा दिर्दै आएको बताए । आचार्यले पञ्चवर्षे योजना बनाएर आफुहरु अगाडि बढेको बताउँदै आगामी दिनमा थप विशिष्टकृत सेवा थप्दै जाने समेत बताए । उनले भने ‘५ वर्षे योजाना बनाएका छौं, त्यसमा  गुणस्तरीय सेवा सहित ३ सय बेडको अस्पताल बनाउने  योजना रहेको छ ।’ निकट भविष्यमै सिटिस्क्यानको व्यवस्था गर्ने र अन्य विशेषज्ञ सेवाका विषयमा समेत छलफल  भइरहेको आचार्यको भनाई छ । उनले विरामीको उपचारसँगसँगै गुणस्तरीय मेडिकल एजुकेसन ल्याउने योजनामा समेत अस्पताल रहेको बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद खेम सारुले स्वास्थ्य क्षेत्रमा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बाँकी भुक्तानी दिने विषयमा बिमा बोर्ड सकरात्मक रहेको उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न अस्पतालाई आग्रह गरे । उनले कार्यक्रम लागु गर्नका लागि प्रदेश सभामा समेत  पटक पटक कुरा उठाएको पनि बताए ।  सांसद सारुले उपाचारसँगै सर्ने नसर्ने रोगका बारेमा सचेतनाका कार्यक्रम गर्न समेत अस्पतालाई आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरी, तानसेन नगरपालिका–१ का वडा अध्यक्ष सुनिल बस्याल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीना लगायतले स्वास्थ्य क्षेत्रमा अस्पतालले पु¥याएको  योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै विगतको इतिहास र गरिमालाई कायम राख्ने गरी काम गर्न अस्पताललाई सुझाव दिए । 

कार्यक्रममा मिसन अस्पतालकी निर्देशक रचेल कारखले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १ सय ६९ बेड रहेको अस्पतालबाट आर्थिक वर्ष २०७९÷०८० मा १ लाख छ हजार ९ सय २ जना विरामीलाई सेवा दिएको बताइन् । उनले अस्पालबाट  गरिब, विपन्नहरुका लागि १ करोड १६ लाख ४५ हजार बराबरको निःशुल्क उपचार गरेको समेत जानकारी दिइन् । गत वर्ष २ हजार ३ सय ७३ जना सुत्केरीले अस्पतालबाट सेवा लिएको निर्देशक कारखको भनाई छ । उनले फोहोर ब्यवस्थापनमा समस्या रहेकाले त्यसको समाधानमा सबैको सहयोग आवश्यक रहेको समेत धारणा व्यक्त गरिन् । अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईले अस्पतालको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बिमा बोर्डबाट अझै पनि सात करोड भुक्तानी लिन बाँकी रहेको बताए । उनले आर्थिक वर्ष २०७९÷०८० को ५६ करोड १७ लाख ३३ हजार ५ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

ट्रष्टमार्फत तानसेनको मिसन अस्पताल र ओखलढुंगा गरी दुई वटा अस्पताल सञ्चालनमा रहेका छन् । २०११ सालमा स्थापना भएको तानसेनको मिसन अस्पतालले ६९ वर्ष पुरा गरेको छ । कार्यक्रममा अस्पतालको सामाजिक स्वास्थ्य विभागकी धनमाया थापाले धार्मिक प्राधना गरेकी थिइन् । अस्पतालका सल्लाहकार सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, गणेश घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update