Shittalpati
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

पाल्पा, आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुस २७ गते मनाउने गरिन्छ ।  यस वर्ष ३०२ औं पृथ्वी जयन्ती मनाइँदैछ । विशेष गरी आज राष्ट्रिय प्रजातन्त्र पार्टीले देशैभर विभिन्न कार्यक्रम गर्दै छ । विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा कार्यक्रम गर्न लागेको पार्टीले जनाएको छ ।  

एकता दिवसलाई केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदान–प्रदान तथा चियापान समारोह, अन्तक्र्रिया, दीपावलीलगायत कार्यक्रम गरी उत्सवका रूपमा मनाउन राप्रपाले यस अघि नै पार्टी मातहतका सबैलाई सर्कुलर गरेको थियो । उसले जिल्लामा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाइ सकेको पनि छ । आजभन्दा लगभग ३ सय वर्षअघि २२ से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ । यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । 

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो । १८ औं र १९ औं शताब्दीको अन्तर्राष्ट्रिय राजनीति हेर्ने हो भने पनि अहिलेका विशालयकाय विभिन्न देशहरु त्यसै समयमा एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन युद्वहरु त्यस बखत विश्वभरि नै भएका थिए । शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । नेपाल एकीकरण गरेकाले शाहलाई ‘राष्ट्र निर्माता’को उपमा समेत दिने गरिन्छ । तर, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले उनीमाथि एकल जाती–नश्लवादी, एकल संस्कृति, एकल धर्म र सम्प्रदायवादीको आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update