1705056738.jpeg)
पाल्पा, पाल्पाका सबै राजनीतिक दलहरुको सक्रिय सहभागितामा ३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस तानसेनमा मनाईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको आयोजनामा भएको दिवसमा लुम्बिनी प्रदेश सभा सदस्य, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, विभिन्न संघ संस्था, बुद्धिजिविहरु, तथा नागरिक अगुवाहरुको सहभागितामा दिवस मनाइएको हो ।
कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक महेन्द्र पन्थीले राष्ट्रनिर्माणमा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गरे । शाहाले चालेको एकिकरण अभियानकै कारण आज हामी स्वाभिमानी नेपाली भएर बाच्न पाएको उप–प्राध्यापक पन्थीले बताए । पृथ्वी नारायण शाहाको दिव्य उपदेशहरु अहिले पनि परराष्ट्र नीतिमा लागु हँुदै आएको, अर्थनीतिमा समय सापेक्ष रहेको, भष्ट्रचार विरुद्धको अभियानमा घुस लिने दिने दुबै राष्ट्रका शत्रु हुन् भनेर दिएका उपदेश कार्यान्वय भए देश विकासमा छिटो छरितो हुने उप–प्राध्यापक पन्थीले बताए । पृथ्वी नारायण शाहाले नेपालको परराष्ट्र नीतिमा उत्तर र दक्षिण छिमेकीसँग सुन्तलित व्यवहार गर्नुपर्ने, नेपाल दुई ढुङ्गा विचको तरुल हो, खानी भएका गाउँ अन्यत्र सार्नु, खेतीयोग्य जमिनमा घर हटाउनु जस्ता उपदेश सवल अर्थव्यबस्थाको लागि अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाई छन् ।
ईतिहास लेख्ने अधिकाश व्यक्ति गोरा व्यक्ति भएकाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहालाई गलत तरिकाबाट व्याख्या गरेर देश भित्र र बाहिर जनतामा भ्रम सिर्जना गर्ने, दुस्प्रचार गर्ने काम भईरहेकोमा कार्यक्रममा सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रनिर्माता तथा नेपाल एकताका सुत्रधार पृथ्वी नारायण शाहको योगदान र भूमिका र इतिहासको बारेमा सरकारले नै जिल्ला जिल्लामा कार्यक्रम गरेर मनाउनु पर्ने भए पनि सरकारले विदा मात्र दिएर जिम्मेबारीबाट पन्छिएको उप–प्राध्यापक पन्थीले बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य नारायण कोईराला, लुम्बिनी प्रदेश सदस्य खेमबहादुर सारु, जिल्ला अध्यक्ष डुलबहादुर कुवँर लगायतले पृथ्वीनारायण शाहालाई देश तथा राष्ट्र निर्माताको रुपमा सबैले मान्ने, उनका उपदेशहरुलाई राज्यले कार्यान्वयन गर्दै जाने, हामी नेपाली हौं भन्नेमा गर्व बोध गराउने अभियानमा सबै पार्टी, जनताहरु एकजुट हुनुपर्नेमा जोड दिए । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार नागरिक समाजका क्रियाशिल व्यक्तिहरुप्रति राप्रपा पाल्पाले जलपान कार्यक्रम गरेको हो । राप्रपा पाल्पाका सचिव हरिप्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।