Shittalpati
कहालीलाग्दो सवारी दुर्घटना

पाल्पा, नेपालगञ्जबाट काठमाडौं जानेक्रममा राप्ती नदीमा शुक्रबार राती भएको कहालीलाग्दो बस दुर्घटनामा १२ यात्रुको ज्यान गएको छ । यात्रुले खचाखच भरिएको भे. १ ख.३९१२ नम्बरको नमस्ते यातायात प्रालिको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजेतिर भालुबाङको राप्ती पुलबाट नदीमा खस्दा १२ जनाको अकालमै ज्यान गएको हो ।

भालुबाङको कहालीलाग्दो यो घटनाले सबैको मन अमिलो भइरहेका बेला पुनः शनिबार दिउँसो बागलुङ र काठमाडौंमा भएका छुुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाले अकालमै ज्यान गुमाउनु पर्‍यो । बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा जिप दुर्घटनामा २ जना र हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा निजी  सवारी दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । यस्ता अप्रिय समाचारले शनिबार दिनभरि नै नेपालीलाई शोकमग्न बनायो । सडक दुर्घटनाको पीडा मृत्यु हुनेहरूलाई मृत्युवरण हुनुभन्दा पहिले र आफन्तलाई मृत्युको खबरले कति हुन्छ भन्ने कुरा झन् अकल्पनीय छ ।

यी छुट्टाछुट्टै दुर्घटनाबाट १९ जनाले अकालमै ज्यान मात्र गुमाएनन् घाइते भएका ३२ जना  मध्ये कयौँ व्यक्तिहरु अङ्गभङ्ग समेत भए । राप्ती नदी पुलबाट खसेको बसबाट १२ जनाले सधाका लागि ज्यान गुमाएका छन् । ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । मृत्यु हुनेमा बाँके नेपालगञ्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौंडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन र रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामी रहेको जिल्ला प्रहरी कार्यालय दाङको संचार शाखाका प्र.ह.बिनोद बुढाथोकीले एनजेडीलाई जानकारी दिए । यस्तै, उनका अनुसार भारत बिहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापाको पनि मृत्यु भएको छ । घाइते २३ मध्ये सातजनाको बुटवल, नौ जना नेपालगञ्ज र ६ जनाको प्रस्तावित भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ । भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । बस ७०÷८० को स्पिडमा रहेको र एक्कासी डिभाइडरमा ठोक्किन पुगी पुलबाट खसेको घाइते अवस्थामा रहका यात्रुुहरुको भनाई छ । शनिबार बुटवलमा हुने राष्ट्रिय बाणिज्य बैंकको परीक्षा दिन बाँकेको नेपालगंजबाट बुटवल हिडेका आशुतोष गौतमले गाडी स्पिडका कारण दुर्घटना भएको बताएका छन् । उनी  आफु बस दायाँबाया हल्लिन थालेपछि  हामफाले बताएका छन् । प्रहरीले भने घटना के कति कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको  जनाएको छ ।

यस्तै बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना  भएकोे थियो ।  दुर्घटनामा  २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्युु हुनेमा चन्द्रगिरी नगरपालिका –१० की २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका–४ खुद्राका २७ वर्षीय तिलक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले एनजेडीलाई जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतक गैरे चन्द्रगिरीबाट ढोरपाटन घुम्न आएको बुझिएको छ ।

दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको उनीहरुलाई हेलिकप्टरमार्फत  पोखरा पठाइएको प्रहरी नायव उपरीक्षक केसीले बताए । उनका अनुसार ३ जनाको सामान्य उपचारपछि घर पठाइएको छ । जिप उकालोमा ब्रेकफेल भइ  दुर्घटना भएको बताइएको छ । यस्तै हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३—०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका–४ मा शनिबार दिउँसो दुर्घटना हुँदा  काठमाडौं–३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो । घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडीमा सवार सृष्टि तिवारी गौतम भने गाडीबाट हामफालेर बाँच्न सफल भएकी छन् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update