पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरवासीलाई खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । रजघरा खानेपानी तथा उपभोक्ता समिति रामपुर–३ रजघराको प्रथम साधारण सभालाई सम्बोधन गर्दै खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार सधैव प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले खानेपानी जनताको आधारभूत आवश्यकतासँग जोडिएको संवेदनशिल विषय भएकाले नगर सरकार त्यसतर्फ गम्भीर रहेको धारणा व्यक्त गरे । नगर प्रमुख थापाले भने ‘सरकारको एक घर एक धारा नीतिलाई नगर सरकारले पनि अनुसरण गरेको छ ।’ उनले खानेपानी सम्बन्धी केही सरकारको नीति परिवर्तन गर्न आवश्यक रहेको औल्याए । नगर प्रमुख थापाले खानेपानी योजना सञ्चान गर्दा उपभोक्ता स्वयमले खरिद गर्न नपाउने खानेपानी डिभिजन कार्यालयको प्रावधान ठिक नभएको बताए । उनले भने ‘हरेक खानेपानी योजना सञ्चालन गर्दा स्वयम उपभोक्ताले विभिन्न सामान खरिद गर्न पाउनुपर्छ, कार्यालयले खरिद गर्दा आर्थिक अनियमितताको आशंका हुन्छ ।’ रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले खानेपानी जनताको आवश्यकता र स्वास्थ्यसँग जोडिने भएकाले संवेदनशिल भएर लाग्न आग्रह गरे । वडा नं.३ का वडा अध्यक्ष दामोदर पाठकले स्वच्छ पिउने पानी खुवाउन र सबै उपभोक्ताको घर–घरमा धारा पुर्याउन समितिले काम गर्नुपर्ने बताए । कार्यक्रममा जेष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य सुर्य प्रसाद श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका ईञ्जिनियर सञ्जिव अधिकारी, निर्वाचन अधिकृत पशुपति खनाल, नेकपा एमाले रामपुर–३ का अध्यक्ष ईश्वरी खनाल, नेपाली काँग्रेसका सभापति प्रकाश ज्ञवाली लगायतले आ–आफ्ना धारणा राखे ।
सभामा पूर्व तदर्थ समितिका सचिव लोकनाथ भट्टराईले २८ लाख बराबरको आयव्याय र वर्तमान तदर्थ समिति सहसचिव खड्कसिं ठकुरीले १ लाख ६० हजार बराबरको छुट्टाछुटै आर्थिक प्रतिवेदन प्रस्तुत गरे । समितिमा केही विवादका कारण २ पटकसम्म तदर्थ समिति गठन गरिएको थियो । साधारण सभा तथा अधिवेशनले हरिप्रसाद कंडेलको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । जसको उपाध्यक्षमा प्रेम पोखरेल, सचिवमा खडक सिं ठकुरी मदन, कोषाध्यक्षमा विष्णु बहादुर थापा र सदस्यमा ईश्वरी पाण्डे, सलक कामी, पार्वती शाही, देउमाया विक र दिर्घनारायण चापागाँई रहेका छन् । तदर्थ समितिका अध्यक्ष सुर्यप्रसाद पोखरेलको अध्यक्षता, सदस्य यमकान्त पाठकको स्वागत, सचिव हरिचन्द्र पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।