Shittalpati
एलएमसी र मदनपोखरा संगम सहकारीबिच स्वास्थ्य उपचार सेवामा छुटसम्बन्धी सम्झौता

पाल्पा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल (एलएमसी) पाल्पाबिच स्वास्थ्य उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सो अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा निश्चत प्रतिशतको छुटसम्बन्धी सम्झौता भएको हो ।

सहकारीका शेयर सदस्यहरुको स्वास्थ्य उपचार सेवामा निश्चित छुट सुविधा उपलब्ध गराउने गरी सहकारीका अध्यक्ष घनश्याम घिमिरे र हस्पिटलका अध्यक्ष गोपाल पोखरेलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार सहकारीका शेयर सदस्यहरुले एलएमसीमा उपचार गराउँदा बिमाको सुविधा पाउने छन् । उनीहरुले ओपिडि दर्ता शुल्कमा शत प्रतिशत छुट पाउने छन् । त्यस्तै साधारण बेड शुल्कमा ५० प्रतिशत,सघन उपचार बेड चार्जमा १० प्रतिशत, साधारण ल्याव परिक्षणमा २० प्रतिशत , रेडियोलोजीकल परिक्षणमा २० प्रतिशत , अप्रेशन शुल्कमा २० प्रतिशत, दन्त चिकित्सासहित विशेष परिक्षणमा १० प्रतिशत , मुख तथा अनुहारको अप्रेशनमा २० प्रतिशत छुट पाउने छन् ।

यस्तै आश्रित परिवारको हकमा ओपिडि दर्तामा ५० प्रतिशत, साधारण बेड शुल्कमा २५ प्रतिशत, सघन उपचार बेड चार्जमा ५ प्रतिशत, साधारण ल्याब परिक्षणमा १० प्रतिशत, रेडियोलोजिकल परिक्षणमा १० प्रतिशत, अप्रेशन शुल्कमा १० प्रतिशत, दन्त चिकित्सा सहितको विशेष परिक्षणमा १० प्रतिशत  तथा सामान्य दाँत परीक्षण र दाँत झिक्नेमा १० प्रतिशत छुट रहेको सहकारीका अध्यक्ष घिमिरेले शितलपाठी डटकमलाई जानकारी दिए । स्वास्थ्य उपचार सेवामा छुटसम्बन्धी सम्झौताले शेयर सदस्यहरु लाभान्वित हुने उनले विश्वास व्यक्त गरे । आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने समेत अध्यक्ष घिमिरेले बताए । आफ्ना शेयर सदस्यरूलाई सरल, सुलभ र सुरक्षित स्वास्थ्य सेवा प्राप्तिका लागि स्वास्थ्य सेवा प्रदायक संस्थासँगको सहकार्य र सहजीकरणलाई निरन्तरता दिइने  पनि उनले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update