दाङ, लुम्बिनी प्रदेशसभामा संसदीय समिति चयनमा अलमल देखिएको छ । सरकारमा रहेका दलहरुबिच भागबण्डा नमिल्दा समिति चयनमा अलमल देखिएको हो । समितिको निर्वाचन नहुँदा लामो समयसम्म संसद् संसदीय समिति विहीन बनेको छ । यस अघि पुस १७ गते समितिको निर्वाचन मिति तोकिए पनि स्थगित हुन पुगेको थियो । सरकारमा रहेका साना दलहरूले संसदीय समितिको सभापति दाबी गरेपछि निर्वाचनमा ढिलाइ भएको स्रोतको भनाई छ ।
सरकारमा रहेका साना दलहरूले चार वटा समितिको सभापति आफूहरूले पाउनु पर्ने अडानमा छन् । यसअघि कांग्रेसले दुई, प्रतिपक्ष एमालेले २, माओवादीले १ र राष्ट्रिय जनमोर्चाले एउटा समितिको सभापति पाउने गरी दलहरूको सहमति थियो । तर सरकारमा रहेका अन्य साना दलहरूले पनि समितिको नेतृत्व पाउनु पर्ने अडान लिएपछि नेतृत्व चयनमा सकस देखिएको छ । सरकारमा पनि धेरै मन्त्रालय ठूला दलहरूले नै लिने अनि संसदीय समितिको नेतृत्व चयनमा पनि आफूहरूलाई उपेक्षा गर्न खोजिएको भन्दै साना दलहरूले चार वटा समितिको नेतृत्वमा दाबी गर्दै आएका छन् । चुनावका लागि पुस १६ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको थियो तर उम्मेदवारी दर्ताको अघिल्लो दिन साना दलहरूले समितिको नेतृत्व पाउनु पर्ने नयाँ माग राखेपछि हाललाई चुनाव रोकिएको छ । मन्त्री नियुक्तिमा आलोचित बनेका मुख्यमन्त्री चौधरीले सभापति चयनमा आफू थप विवादमा आउन सक्ने त्रासदीमा रहेकाले पनि संसदीय समितिको निर्वाचन गराउन आनाकानी गरेको केही सांसदहरुको आरोप छ । अहिले सम्म पनि संसदीय समिति नबन्दा प्रदेश तथा सरकारको कामकारबाही मनमौजी रुपमा चलिरहेको प्रतिपक्ष एमालेको आरोप छ । उसले सरकारले गरेका कामकारबाही निगरानी कसैले नगरोस् भनेर नियतवस् रुपमा यस्ता समिति निर्माणमा ढिलाइ गरिएको दाबी समेत गरेको छ । सरकार तथा संसद्को कामकारवाहीको निगरानीका लागि मात्रै हैन, कानुन निर्माण तथा सन्दर्भमा पनि यस्ता समितिहरू महत्वपूर्ण हुन्छन् ।
प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि संसदीय समिति अझै नेतृत्वविहीन छन् । यहाँ अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् । प्रदेशसभाको ६ समितिमा लेखासहित दुईवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने विषयमा छलफल भएको छ । यद्यपि सत्तारूढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुङ्गो लागेको छैन ।